देवघाट स्नानका लागि निःशुल्क र्‍याफ्टिङ



नवलपुर । नवलपुर, तनहुँ र चितवन तीन जिल्लाको सङ्गममा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न जानका लागि नवलपुरतर्फबाट निःशुल्क ¥याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको छ ।

जिल्लाको गैँडाकोट नगरपालिका–३ का वडाध्यक्ष शिवकान्त तिवारीले केलादीघाट हुँदै वेणीमा जानका लागि निःशुल्क ¥याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको बताए । “माघे सङ्क्रान्तिको दिन नवलपुर र चितवन जोड्ने नारायणी नदीको पुल तरेर नारायणगढ हुँदै देवघाटको वेणी पुग्न तीर्थालुलाई निकै कठिन र असहज हुने गरेको छ”, वडाध्यक्ष तिवारीले भने, “तीर्थालुहरूले माघे सङ्क्रान्ति स्नान सहजरूपमा गरुन् भन्ने उद्देश्यले हामीले केलादीघाटबाट निःशुल्क ¥याफ्टिङ डुङ्गाको व्यवस्था गरेका हौँ ।” नवलपुरसहित पश्चिमबाट आउने तीर्थालुहरू गैँडाकोटको केलादीघाट हुँदै देवघाट स्थान गर्न जाँदा सहज र छिटो हुने तिवारीको भनाइ छ ।


“हाम्रो वडाको प्रचारप्रसारसहित सहज बाटोबाट तीर्थालुहरू देवघाट पुगुन् भन्ने उद्देश्यले हामीले पहल गरेका हौँ”, वडाध्यक्ष तिवारीले भने, “डुङ्गा सञ्चालकसँग हामीले सम्झौता गरेका छौँ, उनीहरूलाई वडा कार्यालयले नै शुल्क भुक्तानी गर्छ, डुङ्गा चढ्ने तीर्थालुसँग कुनै पनि शुल्क लिदैनौँ ।”

गैँडाकोटको पुलचोकबाट करिब पाँच किलोमिटर उत्तरतर्फ लागेपछि केलादीघाट आउने भन्दै तिवारीले केलादीघाट तरेपछि देवघाटको वेणी सङ्गममा पुग्न सकिने बताए । “माघे सङ्क्रान्तिको बेला चितवनतर्फबाट देवघाट जान भीडभाड मात्रै होइन बाटो पनि लामो पर्छ”, वडाध्यक्ष तिवारीले भने, “नवलपुरबाट सिधै देवघाट पुग्नका लागि बाटो छोटो र सहज हुने पनि हुन्छ ।”

नवलपुरभन्दा पश्चिमबाट आउने सबै तीर्थयात्रीलाई गैँडाकोटको केलादीघाटको बाटो प्रयोग गर्न वडाध्यक्ष तिवारीले आग्रह गरे । मुक्तिनाथबाट बग्दै आएकी कालिगण्डकी नदी र दामोदर कुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति पर्वको अवसरमा लाखौँ भक्तजन आउने गर्छन् । माघे सङ्क्रान्ति स्नानका लागि आजदेखि नै भक्तजन आउन सुरु गरेका देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले बताए ।

देवघाट मेलालाई मध्यनगर गर्दै यहाँ यातायात, खानेपानी, शौचालय, बिजुलीबत्तीलगायतका सबै तयारी भएको अधिकारीको भनाइ छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मीको बैठकबाट सुरक्षा व्यवस्था कडा बनाउने निर्णयअनुसार काम भइरहेको अधिकारीले बताए ।