कालीगण्डकी कोरिडोरको बेनी-गलेश्वर खण्डको काम सुरु



बेनी । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी–गलेश्वर सडक कालोपत्रको काम सुरु भएको छ ।

कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजनाभित्र पर्ने म्याग्दीको सदरमुकाम बेनीदेखि प्रवित्र धार्मिकस्थल गलेश्वरसम्मको सडक कालोपत्रसहित स्तरोन्नतिका लागि ठेक्का लिएको जय धन्नजय/मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालि कार्यक्षेत्रमा परिचालन भएको हो ।


सडकखण्डमा कालोपत्रेका लागि १२ करोड ७५ लाख ९४ हजार ४३६ रुपैयाँमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । गत पुस १७ मा भएको ठेक्का सम्झौताको काम २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले निर्धारित समयभित्रै कामसक्ने योजनासहित दुईवटा र आवश्यक जनशक्ति कार्यक्षेत्रमा परिचालन गरिएको बताए ।

सडक निर्माणमा आयोजना र स्थानीय वडा र पालिकामार्फत् र समुदायबाट रचनात्मक साथ दिएर उपयुक्त वातावरण तयार भए तोकिएको समय अगावै कामसक्ने उनको भनाइ छ ।

यसै सातादेखि निर्माण सुरु गरेको कम्पनीले जलेश्वरमा सडकको पर्खाल निर्माणको काम अघि बढाएको छ । सडकलाई फराकिलो बनाउने, खोलाखोल्सामा कल्भर्ट निर्माण गर्ने, आरसिसी पर्खाल निर्माण गरी नाली तयार गरेर बेससहित आठ मिटर चौडाइ कालोपत्र गरिने भएको छ ।

सडक स्तरोन्नतिमा सम्झौता अनुसारको काम गुणस्तरीय र समयमै कालोपत्र काम सम्पन्न गराउनका लागि आयोजनाले प्रभावकारी रुपमा अनुगमन, निरीक्षण र समन्वय गर्ने बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख जगत प्रजापतिले बताए । सडक स्तरोन्नति समयमै सम्पन्न भएमा बेनी नगरपालिकासहित रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका र मुस्ताङवासी घुम्न आउने पर्यटकलाई राहत पुग्नेछ ।