एक सय वर्ष पुरानो जापानी साप्ताहिक पत्रिका बन्द हुने



जापानको साप्ताहिक समाचार पत्रिका शुकान असाहीले आफ्नो १०० वर्षभन्दा लामो प्रकाशन इतिहास आगामी मे महिनामा अन्त्य गर्ने भएको छ ।

असाही शिम्बुन पब्लिकेशन्स इङ्कले साप्ताहिक पत्रिकाको बजार खुम्चिँदै गएको र विज्ञापनबाट हुने आम्दानीमा कमी आएको भन्दै डिजिटल सञ्चार सामग्री र पुस्तक प्रकाशनमा आफ्नो स्रोत बढी केन्द्रित गर्ने भएकोले यस्तो निर्णय गरेको जनाएको छ ।


सन् १९२२ मा सुरु भएको शुकान असाही राजनीति, अर्थशास्त्र र संस्कृतिलगायत विविध विषयमा योगदान गर्दै आएको जापानको सबैभन्दा पुरानो साप्ताहिक पत्रिका हो ।

प्रकाशकका अनुसार सन् १९५० को दशकमा साप्ताहिक शुकान असाहीको सर्कुलेसन १० लाख नाघेको थियो तर गत डिसेम्बरमा पत्रिकाको ७४ हजार १२५ प्रति मात्र बिक्री भएको थियो ।