सिद्धिनहरको पानी आउन थालेपछि बाहुनडाँगीवासी खुसी



झापा । लामो समयपछि सिद्धिनहरको पानी आउन थालेपछि मेचीनगर नगरपालिकाका चारवटा वडाका बासिन्दा खुसी भएका छन् । एक वर्षअघि पहिराले पुरिएको नहरको मर्मतपछि पानी ल्याएर जमिन सिँचाइ गर्न थालेपछि बाहुनडाँगीवासी खुसी भएका हुन् । यो नहरको पानीले मेचीनगर १, २, ३ र ४ को एक हजार सात सय हेक्टर जमिन सिञ्चित हुँदै आएको छ ।

बाहुनडाँगीको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने यो नहर इलामको रोङ गाउँपालिका–६ स्थित अम्बे डाँडाको फेदीबाट सुरु हुन्छ । पहाडको अकरिलो स्थानमा मुहान थापेर ल्याउनुपर्दा पहिराको उच्च जोखिममा सो नहर सधैँ रहेको सिद्धिनहर सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ तिवारीले बताए ।


गत वर्ष कात्तिकमा परेको बेमौसी वर्षाका कारण आएको पहिराले नहरको मुहानलगायत विभिन्न ठाउँ भत्किएको थियो । सिँचाइ डिभिजन कार्यालय र सिद्धिनहर सिँचाइ जल उपभोक्ता समितिको पहलमा मर्मत भएपछि नहरमा पानी आउन थालेको छ । नेपाल सरकारका तत्कालीन मुख्यसचिव डा भोजराज घिमिरेको पहलमा विसं २०७२ मा नहर सञ्चालनमा आएपछि सो क्षेत्रका किसान लाभान्वित बनेका थिए ।

सरकारले सो नहर स्थापनामा रु ४४ करोड लगानी गरेको अध्यक्ष तिवारीले बताए । बाहुनडाँगीका किसानले जङ्गली हात्तीबाट अन्नबाली जोगाउनका लागि चिया, सुपारी, तोरी, फापरलगायतको वैकल्पिक नगदे बालीको खेती गर्दै आएका छन् । पानीको अर्को वैकल्पिक व्यवस्था नहुँदा सिद्धिनहरबाट आउने पानीबाट नै सबै किसिमका बालीमा सिँचाइ हुने गरेको छ ।

उनले सो स्थानमा नियमित सिँचाइको विकल्पका रूपमा मेचीनगर– १ को निन्दा सिरानबाट करिब एक हजार तीन सय मिटरको सुरुङ निर्माण गरी सिद्धिनहरसम्म पानी पु¥याउन आवश्यक रहेको बताए । विगतमा पटक–पटक यस विषयमा छलफल भए पनि राजनीतिक खिचातानीका कारण सो कार्य सफल हुन नसकेको उनको आरोप छ । उनले निन्दा खोलाको पानी सुरुङमार्फत नहरमा पु¥याउने हो भने त्यसैबाट पिउने पानी, बिजुलीसमेत निकाल्न सकिने बताए ।