व्यवसायीमैत्री नीति ल्याउन माग गर्दै अटो व्यवसायी धर्नामा



काठमाडौँ । अटो व्यवसायीहरुले माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

बिहीबार नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजानमा अटो व्यवसायीहरुले सवारी साधनहरुको आयात खुलेपनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको बताए । उनीहरुले सरकारसँग व्यवसायीमैत्री नीति ल्याउन पनि माग गरेका छन् ।


अटो व्यवसायीहरुले अगाडि सारेका मागहरु सरकार र राष्ट्र बैंकले पूरा नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिए । धर्ना कार्यक्रममा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले सवारी आयात गर्न खुला भएपनि एलसी खोली गाडी आयात गर्न ५० प्रतिशत नगद मार्जिन कायम रहेकाले मार्जिन हटाउनु पर्ने बताए ।

उनले गाडी आयात खुला गरेपनि ५० प्रतिशत मार्जिन,५० प्रतिशतमात्रै फाइनान्सिङ गर्न पाइने व्यवस्थाले अटो व्यवसायीहरु मारमा परेको बताए ।

राष्ट्र बैंकले ५० प्रतिशत नगद मार्जिनलाई पुरानै अवस्थामा ल्याउनुपर्ने, ५० प्रतिशतमात्रै फाइनान्सिङ मात्रै गर्न पाउने व्यवस्थालाई ८० प्रतिशत बनाउनुपर्ने माग रहेकोराष्ट्र बैंकले अटो क्षेत्रको कर्जामा जोखिम भारलाई १५० प्रतिशत पुर्याएको छ ।

व्यवसायीले भने पुरानै अवस्थामा अर्थात् ७५ प्रतिशत नै कायम गरिनुपर्ने माग गरेका छन् । कोभिड तथा आयात प्रतिवन्धका कारण लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने अटो व्यवसायीको माग छ ।