विद्युत् खपत बढाउन सके आर्थिक विकास हुन्छ : अर्थमन्त्री शर्मा



काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले ऊर्जाको खपत बढाउन सके आर्थिक विकास गर्न सकिने बताएका छन् ।

आज यहाँ आयोजित फिन इलेक्ट्रो टेक-२०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकभित्रै विद्युत्को खपत बढाउनुपर्ने र यसले व्यापार घाटा कम गर्न समेत सहयोग गर्ने बताए । उनले विद्युत्को क्षेत्रमा भएको लगानीको प्रतिफल लिने समय आएको समेत बताए । 


उनले पछिल्लो समय कोरोना महामारी र रसिया-युक्रेन युद्धका असरका कारण लगानीमाथिको गुणात्मक प्रतिफल पाउन नसकिएको बताए । उनले विद्युत् बिक्री गर्नेभन्दा पनि खपतमा जोड दिनुपर्नेमा जोड दिए । ‘विद्युत् बेच्नु पर्दैन अब विद्युत् बेच्ने जमाना गए, स्वदेशमै विद्युत्को खपत बढाउनुपर्छ’, उनले भने ।

कार्यक्रममा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिनमा विद्युत् खपत बढ्दै जाँदा विद्युत्सम्बन्धी सामग्रीको बजार पनि बढ्ने बताए । भोलिका दिनमा १५ हजार मेगावाट विद्युत् खपत गर्न सकियो भने विद्युतीय सामग्रीसम्बन्धित बजारको पनि सुनिश्चितता हुने उनको भनाइ छ । 

‘बर्खायाममा विद्युत् निर्यात हुनु हाम्रो सफलता होइन, विद्युत् खपतबाटै समृद्धि हुन्छ । तर खपत नभएको विद्युत् खेर फाल्नुभन्दा निर्यात गर्नुपर्छ’, उनले भने। 

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् उत्पादन गर्ने कम्पनीहरूले यस क्षेत्रमा गरेको अर्बौ लगानी बचाउन सरकारसँग आग्रह गरे । ‘पूर्वाधारको अभावमा विद्युत् प्रयोग गर्न सकिएको छैन । अर्बौँ लगानीका आयोजनाको पिपिए हुनसकेको छैन’, उनले भने। 

‘नेपालको समृद्धि, ऊर्जा खपत अभिवृद्धि’ नारासहित फिन इलेक्ट्रो टेक २०२२ प्रदर्शनी आजदेखि सुरु भएको हो । प्रदर्शनी मङ्सिर २५ गतेसम्म चल्नेछ ।