भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने



भरतपुर । भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो । यात्रुको चाप हुने यो विमानस्थल विस्तारका लागिसमेत प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणले टर्मिनल भवनका लागि बोलपत्र आह्वान गरी प्राविधिक मूल्याङ्कनको क्रममा छ । प्राधिकरणका इञ्जिनियर नलविक्रम थापाका अनुसार ६ वटा कम्पनीको बोलपत्र पेस भएको छ ।

ती प्रस्तावको प्राविधिक मूल्याङ्कनपछि आर्थिक प्रस्तावबाट अन्तिम टुङ्गो लगाएर सम्झौता गरिने छ । उनको भनाइमा पुस महिनाका अन्तिम सातासम्ममा सम्झौता भइसक्छ । बोलपत्रको रकम रु दुई अर्बको हाराहारी रहेको भन्दै उनले एकिन रकम आर्थिक प्रस्तावपछि थाहा हुने बताए । तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी सम्झौता गरिनेछ ।


अत्याधुनिक किसिमको ७ हजार सात सय ४९ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गरिने छ । यससँगै टावर हुनेछ । विमानस्थलको धावन मार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको हो । नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गरी विमानस्थलको धावन मार्ग विस्तार गर्ने योजना रहेको छ । नेपाली सेनासँग प्राधिकरण छलफलमा रहेको थापाले जानकारी दिए ।