पर्यटक आकर्षणको केन्द्र बन्यो ‘गलकोट दरबार’



गलकाेट । तलतिर हरिचौर बजार र दरमखोला । माथितिर  घुम्टे पहाड र टेउवा । बीचमा छ गलकोट दरबार । यही दरबार परिसरमा दैनिक आगन्तुकको भीड लाग्ने गरेको छ । कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । विसं १९७९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मकशैलीमा बनेको यो दरबार भने जीर्ण बन्दै गएको छ ।

पछिल्लो समय दरबारको वरपर तस्बीर खिच्ने, भिडियो बनाउने र रमाउनेको सङ्ख्या बढ्दै गएको छ । सडकको सहज पहुँचले गर्दा हरिचौरमा रहेको दरबारमा देशभरबाट पर्यटक घुम्न आउन थालेका छन् । दरबार नजिकै टेउवाको मूर्तिकला र ताराखोलाको गाईघाट झरना छन् । मूर्तिकला र झरनामा घुम्न आउने अधिकांश पर्यटक दरबारसम्म पुग्ने गरेका छन् ।


दरबारसम्मै गाडीमा पुग्न सक्ने भएपछि दिनप्रति दिन आन्तरिक पर्यटक दरबारमा आउने गरेको स्थानीयको भनाइ छ । भरतपुर चितवनबाट ढोरपाटन घुम्न आएका आकाश परियारले गलकोट दरबारको पनि अवलोकन गरे। उनी शान्त वातावरणमा रहेको दरबारले यहाँ आउने जो कोहीलाई आकर्षित गर्ने बताउछन् ।

परियार भन्छन्, “सयौँ वर्ष पुराना सम्पदा अहिले पनि देख्न पाउनु हाम्रो लागि सौभाग्यको कुरा हो, यस्ता ऐतिहासिक महत्व बोकेका सम्पत्ति अहिले पनि छन् हाम्रो देशमा, यो ठाउँ पनि धेरैलाई आकर्षित गर्ने खालको रैछ, त्यसमाथि यति सुन्दर दरबारले मलाई अझै केही दिन यतै बसेर घुमौँघुमौँ गरायो ।”

बागलुङ आउँदा ढोरपाटन, कालिका मन्दिर, पञ्चकोट, टेउवाको मूर्तिकला र गलकोट दरबार घुमेर जाने योजना बनाएको परियारले बताए । यहाँका संरचनाको मर्मतसम्भार गरी व्यवस्थित बनाउन सके देशी तथा विदेशी पर्यटकलाई तान्न सकिने उनी बताउछन् ।

“यो दरबारको बारेमा मैले युट्युबमा एउटा भिडियो देखेको थिएँ, भिडियो देख्दा यहाँ आउने रहर जागेको थियो, विदेशमा भएको हुँदा पहिले चाहेर पनि आउनु पाइएन”, जापान बस्दै आएका परियारले भने, “बागलुङ आएको बेला यहाँ भएका धार्मिक तथा पर्यटकीय ठाउँ घुमेर जाने हो ।”

गुल्मीको मुसिकोटबाट घुम्न आएका दिपेश गिरीले गलकोट दरबारको धेरै वर्षदेखि चर्चा हुँदै आएको भन्दै आफू पाँचौँ पटक यहाँ घुम्न आएको बताए । उनी सामान्य कामले गलकोट बजारमाआएको बेला दरबारसम्म आएरै छोड्ने गरेको बताउछन् । 

“पहिले त यहाँसम्म आउने सडक राम्रो थिएन, अहिले त सडक पनि राम्रो छ, दरबार हटिया बजार नजिकै भएर पनि होला, यहाँ धेरै मान्छेको चहलपहल हुँदो रैछ, हामी सानो हुँदादेखि नै मान्छेहरु गलकोट दरबार घुम्न जाने भन्दै आउँथे, अहिले पनि घुमफिर गर्न आउने धेरै हुने रहेछन्”, गिरीले भने, “म पाँच पटकसम्म यहाँ घुम्न आएँ, फेरि पनि मेसो मिले आउँछ, सडक राम्रो छ, यहाँ आउन धेरै समय पनि लाग्दैन ।”

स्थानीयका अनुसार यहाँ दैनिक दुई सय बढी आन्तरिक पर्यटक आउने गरेका छन् । बिदाको दिन अझ बढी आउने गरेको उनीहरुको भनाइ छ । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले गलकोट दरबारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको बताए । दरबारले एउटा बिरासत बोकेको भन्दै यसको संरक्षण गर्न जरुरी रहेको बताउँछन्।

प्रवक्ता भण्डारीले भने, “यो दरबार अहिले पनि व्यक्तिगत स्वामित्वमा रहेको छ, व्यक्तिगत स्वामित्वमा रहेको संरचनालाई हामीहरूले पनि मर्मतसम्भार गर्ने गरी छलफल गरेका थियौँ, अहिले केही जीर्ण बनेको छ, अहिले त्यसलाई मर्मत गर्न लाग्नुभएको छ ।”

दरबार करिब पाँच रोपनी जग्गामा फैलिएको छ । विसं २०१७ सम्म दरबार अस्तित्वमा थियो । भरतबम मल्ल तत्कालीन राजा हुनुहुन्थ्यो । यहीबाट गलकोटको राजकाज चल्थ्यो । त्यो बेलासम्म गलकोट राज्यको प्रशासनिक, न्यायिक र आर्थिक अधिकार दरबारमा केन्द्रित थियो । पहिलो जननिर्वाचित सरकारले राजा, रजौटा उन्मूलन गर्ने निर्णय गरेको थियो । त्यसका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लाने गलकोटकै राजा भरतबम मल्ल थिए । उहाँ २०१५ को निर्वाचनमा भाग लिएर निर्वाचितसमेत भएका थिए ।

तत्कालीन राजा भरतबम मल्लका पनाती मञ्जेशबम मल्लले अहिले दरबारको संरक्षणमा जुटेका थिए। उक्त दरबार मल्लकी आमा सरोजा मल्लको नाममा छ । विसं २०३९ मा राजा भरतबमको निधन भएको थियो । राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा नाति माधवबममा आएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्लको द्वन्द्वका समयमा मृत्यु भएको थियो । विसं २०५९ वैशाखमा भएको उक्त घटनासँगै मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ सरेको थियो । 

राजा भरतबमका पनाती मञ्जेशबमले अहिले दरबारको मर्मतसम्भार गर्न थालेका छन् । उनले पछिल्लो समय दरबारमा पर्यटक आउन थालेको भन्दै जीर्ण बनेको दरबार पुरानै शैलीबाट मर्मतसम्भार गर्न लागेको बताए ।

मल्लले भने, “दरबारलाई हामीहरूले पुरानै शैलीमा मर्मत गर्न थालेका छौँ, दरबारको तल्लो तलालाई सङ्ग्रहालयका रुपमा विकास गर्ने र माथिल्लो तलालाई व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्ने गरी पुनःनिर्माण हुँदैछ, यहाँ थप अरु संरचना पनि व्यवस्थितरुपमा निर्माण गर्ने गरी लागेका छौँ ।”