काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले अतिरिक्त शपथ लिएका छन् । बिहीबार संसद भवनमा अन्य सांसदले सरह पद तथा गोपनीयताको शपथ लिएलगत्तै लिङ्देनले थप शपथ लिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।
संघीय संसद् सचिवालयले उपलब्ध गराएको अनुसूची ३ प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ को उपदफा १ सम्बन्धित व्यवहोराअनुसार सांसदहरुले शपथ ग्रहण गरे । तर, त्यसमा केही शब्द थपेर राप्रपा अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरे । उनले थप शपथ भन्दै ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु’ भनेर शब्द थपेर शपथ ग्रहण गरेका हुन् ।
उनीसहित राप्रपाका १३ जना सांसदले सोही व्यहोरामा शपथ लिएका राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।