कांग्रेस काभ्रेद्वारा दुई केन्द्रीय सदस्यसहित ३ जनालाई कारबाही सिफारिस



काठमाडौँ । हालै सम्पन्न आम निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्र्तघात गरी एमालेका उम्मेदवारलाई जिताएको आरोपमा काभ्रे कांग्रेसका नेताहरुमाथि कारबाहीको सिफारिस भएको छ ।

जिल्ला कार्यसमितिको शनिबारको बैठकले केन्द्रीय सदस्यद्वय मधु आचार्य, गणेश लामा, क्षेत्रीय सभापति महेश खरेलमाथि कारबाहीको सिफारिस भएको हो । पार्टीको कुनै पनि जिम्मेवारीमा नरहनेगरी उनीहरुमाथि कारबाहीको सिफारिस भएको छ । उनीहरुले अन्र्तघात गरेको यथेष्ट प्रमाण भएकाले कारबाही सिफारिस भएको निर्णयमा उल्लेख छ ।


त्यस्तै, प्रदेश सांसदमा निर्वाचित कञ्चनचन्द्र बादे र बनेपा नगर समितिसँग स्पष्टिकरण माग्ने निर्णय भएको जिल्ला सभापति तिर्थ लामाद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

काभ्रेको क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार शिव हुमागाई पराजित भएका थिए । पार्टीकै नेताहरुको असहयोगमा हुमागाई हारेको बताइएको छ । प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी हुँदा संघमा भने एमालेका गोकुल बाँस्कोटा विजयी भएका थिए । बनेपा र पाँचखालबाट हुमागाईले थोरै मत ल्याएपछि त्यहाँ अन्र्तघात भएको हो ।