सर्लाही क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका चौधरी विजयी



सर्लाही । सर्लाही क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी विजयी भएका छन् ।

उनले नेकपा (एमाले)बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिभएका लालबन्दी नगरपालिकाका निवर्तमान नगरप्रमुख मानबहादुर खड्कालाई पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षकसमेत रहनुभएका चौधरीले २४ हजार आठ सय ३८ मत पाउँदा खड्काले १८ हजार चार सय चार मत प्राप्त गरेका थिए । चौधरीले खड्काभन्दा छ हजार चार सय ३४ बढी मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सर्लाही–१ बाट प्रतिनिधिसभातर्फ चौधरीसहित १० जना चुनावी मैदानमा रहेका थिए । तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता सोही क्षेत्रका निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रमोद साहले १४ हजार दुई सय ५५ मत प्राप्त गरे। चार प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा अन्य क्षेत्रको मतगणना जारी रहेको छ ।