बागलुङमा चुनावी तयारी तीव्र



बाग्लुङ ।  सङ्घ र प्रदेशको चुनाव आउन १६ दिन बाँकी छ । राजनीतिक दलदेखि निर्वाचन आयोग र सम्बद्ध निकाय चुनावको तयारीमा जुटेका छन् । दल र उम्मेदवार मतदाता रिझाउन तल्लीन छन् ।  सुरक्षा योजनालगायत चुनावको व्यवस्थापकीय तयारीका कामलाई पनि तीव्र पारिएको छ । मतदान र त्यसपूर्व चाहिने सबै सामग्री यहाँ आइपुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

“मतदान केन्द्रअनुसार मतपत्र छुट्याउने, प्याकिङ गर्ने काम भइरहेको छ, निर्वाचन सामग्री लगभग सबै आइसकेको छ”, जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले भने, “कर्मचारीको खटनपटन, तालिमलगायतका काम पनि सँगसँगै हुँदैछ ।”


मतदाता शिक्षाका लागि वडास्तरमा स्वयंसेविका खटाइएको उनको भनाइ छ । पालिका तहमा नमुना मतदान अभ्यास गराइने भएको छ । सञ्चारकर्मीलगायत सरोकार भएका पक्षलाई चुनावबारे अभिमुखीकरण गरिने निर्वाचन अधिकारी रिजालले बताए ।