प्रयोगविहीन जेब्राक्रसिङ, मनलाग्दी बाटो काट्दा दुर्घटनाको जोखीम



घोराही । बढ्दो सहरीकरणसँगै घोराही बजारका मुख्य सडक व्यस्त हुन थालेका छन् । सडकमा सवारीसाधनको चाप बढेपछि दुर्घटना न्यूनीकरणका लागि पैदलयात्रुलाई बाटो काट्नका लागि ‘जेब्राक्रसिङ’ बनाइएको छ । सडकपार गर्दा आम पैदलयात्रुले जेब्राक्रसिङको प्रयोग कमै मात्रामा हुने गरेको छ । सडकका ठाउँठाउँमा बनाएका जेब्राक्रसिङबारे नागरिकमा सचेतना पुग्न नसक्दा मनलाग्दी बाटो काट्नेहरू प्रचलन बढेको हो ।

यात्रु जेब्राक्रसिङबाट बाटो नकाटी नजिकैबाट मनलाग्दी बाटो काटिरहेका देखिन्छन् । साथै, सवारी चालकले पनि जेब्राक्रसिङलाई वास्ता नगरी सवारी हाँकेको देखिन्छ । जेब्राक्रसिङमा पुग्दा सवारी साधनको गति कम हुनुपर्छ । घोराहीमा भेटिएका रोल्पाका बीरबहादुर मगरले आफूलाई जेब्राक्रसिङबारे जानकारी नभएको बताए । ‘मलाई जेब्राक्रसिङ केका लागि हो भन्ने थाहा थिएन’ उनले भने, ‘सबै पैदलयात्रुलाई जेब्राक्रसिङबारे जानकारी नहुनसक्छ । यस विषयमा सम्बन्धित निकायले जानकारी दिन आवश्यक छ ।’


बजारमै भेटिएका कमला थापाले समेत सडक पार गर्दा जेब्राक्रसिङ प्रयोग गरेनन्। उनीसँगै रहेका अन्य व्यक्तिले समेत जेब्राक्रसिङ नजिकैबाट सडक पार गरे । ‘मलाइ हतार थियो’, उनले भने, ‘जेब्राक्रसिङबाट सडक पार गर्न अलि माथि जानुपथ्र्यो । हतार भएकाले तलैबाट हिँडियो ।’

उनीहरु जस्तै जानकारी नभएर र हतारमा सडक पार गर्ने सर्वसाधारणको सङ्ख्या धेरै छ । जसले गर्दा सडक सुरक्षाका लागि बनाइएका जेब्राक्रसिङ प्रयोगविहीन छन् । यसले दुर्घटनाको जोखिम बढाएको छ । सडक नियम पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले बताए। 

‘धेरैलाई जेब्राक्रसिङको प्रयोगबारे चेतना छैन’, उनले भने, ‘कोही जानकारी भएर पनि अटेर गरी हिँड्छन् ।’ कतिपय ठाउँमा जेब्राक्रसिङ पनि मेटिँदै जान थालेको र यसको मर्मत गर्ने जिम्मेवारी सडक डिभिजन कार्यालयको भएको हुँदा आफूहरूले पनि पहल गरेको बता

उनका अनुसार चालु आर्थिक वर्षमा चार महिनामा दाङमा सवारी दुर्घटनाका कारण १६ जनाको मृत्यु भइसकेको छ । जसमा ६० जना सामान्य घाइते भएका छन् भने ३५ जना गम्भीर घाइते भएका छन् । जसमा ४० वटा सवारी दुर्घटना भएका थिए । यसैगरी गत  आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनामा ९५ जनाको मृत्यु भएको थियो ।  एक सय ९५ जना गम्भीर घाइते भएका थिए भने एक सय ४० सामान्य घाइते भएका थिए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख परियारले अहिले निर्वाचनको समय भएकाले निर्वाचनपछि ट्राफिक सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए। कतिपय नागरिकलाई सडकपार गर्दा जेब्राक्रसको प्रयोग गर्नुपर्छ भन्ने जानकारी हुँदैन भने कतिपय शिक्षित नागरिकले पनि यसको प्रयोग गर्न झन्झटिलो मान्ने गरेको देखिएको छ ।