निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरी छाड्छु : शशाङ्क कोइराला



मध्यविन्दु । नवलपरासी बर्दघाट सुस्तापूर्व–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले आफूले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने बताएका छन् ।

विजयी घोषणापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कोइरालाले अबको पाँच वर्षमा ठूला आयोजना पूरा गर्ने बताए । जिल्लामा राष्ट्रियस्तरको ट्रमा सेन्टर र अन्तर्राष्ट्रिय खेलमैदान बनाई छाड्ने उनको दाबी छ ।


“चारपटक जनताले यही ठाउँबाट जिताएर पठाउनुभएको छ ,पक्कै मेरो काम मन पराउनुभएको होला”, उनले भने, “अब पनि जनताका बीचमा नै रहेर बाँकी काम गर्छु ।”

साथै कोइरालाले यो पटक प्रधानमन्त्रीमा आफ्नो पनि दाबी रहने बताए । “प्रधानमन्त्रीमा फेरि शेरबहादुर देउवादेखि गगनजीको पनि दाबी छ, मेरो पनि रहन्छ”, उनले भने, “यो गठबन्धन पाँच वर्षसम्म रहन्छ, हामी मिलेर काम गर्छौं ।”

युवालाई अघि बढाउनुको विकल्प नरहेको उनले बताए । “देशभर यस पटकको निर्वाचनले युवालाई अघि बढाऊँ भन्ने सन्देश दिएको छ”, उहाँले भन्नुभयो, “त्यसलाई आत्मसात् गर्नुपर्ने अवस्था छ ।”