कञ्चनपुरमा तीन पूर्वमन्त्री चुनावी मैदानमा



कञ्चनपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा प्रतिनिधिसभाका तीनवटै निर्वाचन क्षेत्रमा पूर्वमन्त्री चुनावी मैदानमा रहेका छन् । सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेत्री बीना मगर चुनावी मैदानमा छिन् ।

विसं २०७४ को निर्वाचनमा भारी मतले विजयी भएका उनी यसपटक अघिल्लो जीतलाई निरन्तरता दिने दाउमा छिन् । विसं २०७४ को निर्वाचनको प्रतिस्पर्धी दल नेपाली कांग्रेस अहिले उनको समर्थनमा छ भने त्यो निर्वाचनका सारथी नेकपा (एमाले)का तर्फबाट तारा लामा तामाङ अहिले उनको प्रतिस्पर्धी छन् । 


त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउद चुनावी मैदानमा छन् । विसं २०७४ को निर्वाचनमा साउदलाई पराजित गरेका एमाले नेता नरबहादुर धामीसित उनको दोस्रोपटक प्रतिस्पर्धा हुँदैछ । धामी जीतलाई निरन्तरता दिने रणनीतिमा छन् भने साउद हारको बदला लिने पक्षमा यसपटक देखिएका छन् । विसं २०७४ को निर्वाचनमा धामीको समर्थनमा रहेको माओवादी यसपटक साउदको समर्थनमा छ । यसपटक माओवादीको समर्थनमा हारको बदला दिने दाउमा साउद छन् । 

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पूर्वमन्त्री रमेश लेखक र नेकपा (एमाले) नेत्री निरुदेवी पालबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्लोपटक एमालेका नेता डा दीपकप्रकाश भट्टसित थोरै मतले पराजित भएका लेखक यसपटक सत्तागठबन्धन दलका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । उनका प्रतिस्पर्धी पाललाई यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेको छ ।