इण्डोनेशिया भूकम्प, खोज तथा उद्धार जारी



इण्डोनेशियाको मुख्य टापु जाभामा गत सोमबार ५.६ म्याग्निच्युडको भूकम्प हुँदा दुई सय ६८ जनाको मृत्यु भएको छ । एक हजारभन्दा बढी घाइेत भएकाले मृतकको सङ्ख्या बढ्नसक्ने उद्धारकर्मीले बताएका छन् । सुरक्षा अधिकारीले खोजी तथा उद्धारलाई अझ तीव्र गतिमा अघि बढाएका छन् ।

भूकम्पबाट अधिक प्रभावित क्षेत्रमा थप उद्धारकर्मी र स्वयम्सेवक परिचालन गरिएका छन् भने हराएकाहरूको खोजी जारी छ । सियानजुर वरपरका क्षेत्रका धेरै स्थानमा पहिरो खसेको, इस्लामिक आवासीय विद्यालय, अस्पताल, सार्वजनिक सुविधाका स्थल र भवनहरू भत्केका छन् । भग्नावशेषबाट जीवित उद्धार गर्ने सम्भावना कम रहे पनि मृतकहरू भेटिनसक्ने अनुमानमा भग्नावशेष पन्छाउन स्वयम्सेवक दत्तचित्त भएर लागेका छन् ।


ठुल्ठूला साबेल, कोदालो, ज्यावल, हथौडी लिएर उनीहरू भग्नावशेषमा काम गरिरहेका छन् भने केही खाली हात नै खोजविनमा जुटेका छन् । प्रहरी बलले दुई हजार र राष्ट्रिय सेनाले १२ हजार फौज परिचाल गरेर खोजी तथा उद्धारलाई तीव्र गतिमा अघि बढाएको राष्ट्रिय प्रकोप न्यूनीकरण एकाइका प्रमुख सुहार्यान्तोले बताएका छन् ।

केही प्रभावित क्षेत्र अति दुर्गम भएकाले भारी सवारी साधनसहित उद्धारकर्मीलाई त्यहाँ पुग्न हम्मेहम्मे परेको छ । भूकम्पसँगै पहिरो खस्दा सडक अवरूद्ध भएका छन् । अवरूद्ध सडकमा सवारी साधन सञ्चालन गरेर उद्धारमा जुट्नुपर्ने भएकाले पीडित परिवारसम्म सहयोग गर्नेहरू पुग्न सकेका छैनन् । समयमै उद्धार तथा राहत सामग्री नपाएकामा उनीहरूले सरकारको आलोचना गरेका छन्