रुपन्देही-४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्ला विजयी



रुपन्देही । रुपन्देही- ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् । उनी २८ हजार मतसहित प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका हुन् । यद्यपि औपचारिक घोषणा हुन भने बाँकी छ ।

उनले निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसका प्रमोदकुमार यादवलाई ५ हजार २९६ मतान्तरले पराजित गरे । यादवले २२ हजार ७०४ मत पाएका छन् ।


त्यस्तै जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले १५ हजार ५२६ मत पाएका छन् भने जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार ओमप्रकाश यादवले १७ सय ६३ मत पाएका छन् ।

२०५१ मा राप्रपाबाट चुनाव जितेका शुक्लाले त्यसपछि मधेश केन्द्रीत दलबाट चुनाव लड्दै आएका थिए । कांग्रेसका यादवले २०७४ मा यस क्षेत्रबाट शुक्लालाई पराजित गरेका थिए ।