जडीबुटी निकासी नहुँदा व्यवसायी मर्कामा



नेपालगञ्ज । करिब रु ४० करोड बराबरको झन्डै एक हजार टन जडीबुटी भारत निकासी नहुँदा व्यवसायी मर्कामा परेका छन् । भारतीय प्लान्ट क्वारेन्टिइनको सूचीमा दर्ता भएपछि जडीबुटी भारत निर्यात हुने जडीबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष टंकप्रसाद शर्माले जानकारी दिए । 

उनका अनुसार इलामदेखि दार्चुलासम्म संकलन भएको विभिन्न प्रकारका जडीबुटी पाकिस्तान र बङ्गलादेशसमेत निर्यात भएको छ । ‘नेपालबाट जडीबुटी मुख्य निर्यात हुने देश चीन र भारत नै हो’, उनले भने । खासगरी जटामसी मार्क, अमला, गुर्जोलगायत विभिन्न प्रकारका प्रशोधित जडीबुटी विदेश निर्यात हुने गरेको छ ।


सरकारको नियमानुसार व्यवसायीले जडीबुटी प्रशोधन नगरी बेच्न नपाइने उल्लेख गर्दै संघका केन्द्रीय अध्यक्ष शर्माले सरकारले जडीबुटी निर्यातमा सहजीकरण नगरेको आरोप लगाए । यसमा सहजीकरण भए पैसामा देखिएको समस्यासमेत समाधान हुने उनले विश्वास व्यक्त गरे । 

व्यवसायी रवीन्द्रनाथ शुक्लाले आफ्नो मात्रै करिब रु एक करोड बराबरको उत्पादन थन्किएको बताए । जडीबुटी व्यवसायी संघका अनुसार बाँकेमा जडीबुटीसम्बन्धी साना र ठूला गरेर १२ उद्योग छन् । गत वर्ष पाँच हजार टन जडीबुटी निर्यात गरेको संघले यस वर्ष हालसम्म दुई हजार टन मात्र जडीबुटी निर्यात गरेको छ ।