हस्तकलाजन्य प्रदर्शनीमा पर्यटकको आकर्षण बढ्दो



काठमाडौँ । विश्व पर्यटन दिवसका अवसरमा वसन्तपुर तथा त्यस आसपास क्षेत्रमा हस्तकला कपडा, झोला, गरगहना, धातु तथा माटाका सामग्रीले डबली क्षेत्र शोभायमान देखिएको छ । काठमाडौँ महानगरपालिका, हनुमानढोका दरबार क्षेत्र पर्यटन प्रवर्द्धन संघको आयोजनामा आज आयोजित एक दिवसीय हस्तकला प्रदर्शनीले त्यस क्षेत्रमा पर्यटकको थप आकर्षण बढेको हो ।

नेपाल हस्तकला महासङ्घ आवद्ध सङ्घ, संस्था, उद्यमीको सहभागिता रहेको कार्यक्रमको काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले परम्परागत कला, संस्कृतिका साथै मौलिक हस्तकला उत्पादनमा पनि नेपाल अग्र स्थानमा रहेको बताए । स्वदेशी उत्पादनलाई विश्व बजारमा फैलाउन गुणस्तरीय वस्तु उत्पादन र प्रवर्द्धनको खाँचो औँल्याए । धातुकला, पश्मिना, काष्ठकला, पेपर क्राफ्टलगायतका स्वदेशी उत्पादन भारत, चीन, संयुक्त राज्य अमेरिका, युरोप, जापान, क्यानडालगायत मुलुकमा माग भइरहेका छन् । विदेशीको रोजाइमा पनि हस्तकला तथा तानजन्य सामग्री परेका छन् ।


मुलुकमा देखा परेको व्यापारघाटा न्यूनीकरणका लागि नेपाली हस्तकला क्षेत्रले केही योगदान गरेको छ । धातुजन्य वस्तुका मूर्तिलगायत अन्य सामान कालीगढले हातले कुदेर बनाइरहेका छन् । ललितपुरका माणिकमान शाक्यले धातुका पातालाईभित्र बाहिर दुबै तर्फबाट च्यापेर कलाकृति बनाइरहेको दृश्यले प्रदर्शनी हेर्न आउने जो कोहीलाई पनि मनोरञ्जनयुक्त बनाएको छ । प्राचीनकालदेखि नै प्रयोगमा रहेको यस्तो कला कौशल सिपालु र अनुभवी कालिगढले मात्र पूरा गर्न सक्छन् । लिच्छवीकालीन समयदेखि धार्मिक एवं सांस्कृतिक क्षेत्रमा यस्तो कलाको प्रयोग सुरुआत भएको शाक्यले बताए ।

 उनले प्रविधिको विकासक्रमसँगै साँचोमा राखेर धेरै वस्तु उत्पादन हुन थालेको विशुद्ध हातले बनाउने यो कला निर्माण जटिल बन्दै गएकामा चिन्ता गरे । सरकारले हस्तकलाको विकासका लागि कुनै नीति ल्याउन नसकेको अहिलेको अवस्थामा स्थानीय तहले उद्यमीलाई कच्चापदार्थ लगायतका विषयमा छुट दिने तथा उत्पादनमा न्यून कर लगाउनुपर्ने उनको भनाइ छ । 

प्रदर्शनीमा माटाका सामग्री बनाउन विदेशीले पनि सिकिरहेका छन् । यसको प्रवर्द्धनका लागि सम्बन्धित पक्षलाई आवश्यक सहुलितको नीतिगत व्यवस्था हुनुपर्ने व्यवसायीको माग छ । हस्तकला नीति बनाउँदा व्यवसाय प्रवर्द्धन र उत्पादित सामग्री प्रचार, बजारीकरणमा ध्यान दिनुपर्ने मेलाका संयोजक डिल्लीरत्न तुलाधरले बताए । 

यस क्षेत्रले घरपरिवारको आयआर्जनमा सहयोग पुग्ने र देशको अर्थतन्त्रलाई पनि बलियो बनाउने भए पनि मुलुकभित्र साधनस्रोतको अभाव रहेको तुलाधरको भनाइ छ । नेपाल हस्तकला महासङ्घले देश तथा विदेशमासमेत हस्तकला व्यापार मेला गरेर केही प्रचार गरिरहेको छ । व्यवसायका लागि आवश्यकपर्ने दक्षजनशक्ति पनि न्यून रहेकाले उनीहरूलाई तालिमलगायत उत्प्रेरणाको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । 

यस क्षेत्रले करिब १० लाख मानिसलाई रोजगारी दिइरहेको र वस्तु निर्यात गरी वैदेशिक मुद्रा सञ्चित गरेको जनाइएको छ । स्वदेशमा हस्तकलाको माग करिब १० अर्ब बराबरको छ । करिब १५ अर्बको निर्यात हुने गरेको छ । हस्तकला नेपाललाई विश्व परिवेशमा विशिष्ट पहिचान गराउने क्षेत्र हो । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान यस क्षेत्रको छ । ग्रामीण भेग तथा बेरोजगार युवालाई सीप सिकाएर उत्पादन वृद्धि गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुन्छ । विभिन्न जातजाति तथा समुदायले सजिएको मुलुकमा उनीहरूको जातीय मौलिक हस्तकला छन् । तिनीहरूको सीप प्रवर्द्धन पनि उत्तिकै जरुरी छ ।

 बैंक तथा वित्तीय संस्थाले यस्ता उद्योगको स्थापना तथा विकासका लागि कर्जा प्रवाह गर्नुपर्ने तुलाधरको सुझाव छ । हस्तकलाको विकास र विस्तार गर्न सकेमा गरिबी निवारणमा पनि सहयोग पुग्ने र समृद्धिका सम्भावना वृद्धि हुने व्यवसायीको भनाइ छ ।