सीमासुरक्षा थप प्रभावकारी बनाउन एपीएफ र एसएसबीबीच सम्झौता पत्रमा हस्ताक्षर



काठमाडाैँ । नेपाल–भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन् । सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोक काठमाडौँमा भएको दुई दिने छैटौँ समन्वयात्मक बैठकमा उक्त सहमति भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा भारतको सशस्त्र सीमा बलका तर्फबाट महानिर्देशक सुजय लाल थाओसेनले बैठकको नेतृत्व गरेका थिए । बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउने, दुई सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदनप्रदान गर्नेलगायत सहमति भएको छ ।


दुई सुरक्षा अधिकारीबीच भएको हस्ताक्षरमा सीमा नाकामा ‘हेल्प डेस्क’ स्थापना गर्ने कार्यलाई निरन्तरता दिँदै सीमा क्षेत्रमा प्रभावकारी कार्य गर्ने सहमति पनि भएको सशस्त्र प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।