सप्तकोसीमा जेटबोट सञ्चालनमा



सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ । सप्तकोसी नदीमा हिउँदको समयमा बराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिसहितले तीन लामो दूरीका र चार छोटो दूरीका जेटबोट सञ्चालनमा ल्याएको बराहक्षेत्र मरिन एन्ड रिसोर्ट जेट बोटका सञ्चालक नवीन पौडेलले जानकारी दिए ।

हिउँदको बेला चाडपर्वमा स्थानीयवासीलाई आवतजावत गर्नका लागि सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याइएको उनले बताए । सप्तकोसी किनारस्थित बराहक्षेत्र मन्दिरबाट जेटबोट सञ्चालन भएको पौडेलले जानकारी दिए ।


दसैँ तिहार लक्षित गरी यात्रुलाई सहजताका साथ आफ्नो गन्तव्यस्थल पुग्नका लागि जेटबोट सञ्चालनमा ल्याइएको उनले बताए । बराहक्षेत्रबाट कोप्चेसम्मका जेटबोटको हालको भाडादर जनही ६ सय कायम गरिएको छ । जेटबोटले पाँच किलोमिटको दूरी तय गर्नेछ ।

पानीको सतह घटेपछि भाडादरमा समायोजन गरिने पौडेलको भनाइ छ । बराहक्षेत्रबाट जेटबोट सञ्चालन भएपछि भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाको सिम्ले, अखुवाटार, त्रिवेणी, साङ्मालगायत ठाउँमा यात्रा गर्नका लागि सहज हुने उनले बताए । जेट बोटको क्षमता ४० जना अटाउने रहेको छ ।