सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार : बालेन शाह



काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार भएको बताएका छन् । मेयर शाहले चाडपर्वको नाममा फुटपाथमा व्यापार गर्न दिने कुरामा महानगर लचिलो नहुने पनि बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै मेयर शाहले सडकमा पैदल यात्रीको पहिलो अधिकार हुने बताएका छन्


‘सडकमा पैदलयात्रीको पहिलो अधिकार रहन्छ। यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ। सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिवद्धता हो,’ शाहले भनेका छन्,‘यो कायम छ। यसैगरी सहरी सरसफाइलाई पूर्ण सरसफाइसम्म पुर्‍याउने, सहरी सुन्दरता कायम गराउनेजस्ता विषयलाई हामीले नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेका छौं।’

आर्थिक वर्ष २०७९–०८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइने विषय उल्लेख रहेको पनि शाहको भनाइ छ । 

‘यो नीति प्रभावकारी रूपमा कार्यान्वयन गराउन महानगरले सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको छ । पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्छ । अन्य समयभन्दा योबेला  जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरू किनमेलका घरबाहिर निस्कने समय हो,’ उनले भनेका छन्,‘उहाँहरूको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो। सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो । त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रूपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौं ।’

सहरी सुशासन र सहरी विकास व्यवस्थापनका सन्दर्भमा महानगरले नीति बमोजिम आफ्ना कार्यक्रमहरुलाई निरन्तरता दिने पनि दोहोर्याएका छन् ।