ब्याजदरमा भएको वृद्धिले उत्पादनमूलक उद्योग प्रभावित पार्छ : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याज लिने संस्कारका कारण देशभित्र उत्पादनमूलक उद्योग स्थापनामा समस्या देखिएको बताएका छन् ।

आजदेखि यहाँ शुरु भएको नाडा इभी अटो प्रदर्शनीको उद्घाटन कार्यक्रममा उनले पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले वृद्धि गरेको ब्याजदरका कारण उत्पादनमूलक उद्योगको विकास र विस्तारमा समस्या देखा परेको बताए ।


उनले भने, ‘जुन देशमा बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी लिन पाइन्छ, त्यो देशमा उत्पादन सम्भव होला ? पक्कै पनि हुँदैन । यहाँ समस्या छ । यो समस्या हल गर्नुपर्छ ।’

उनले बिना लगानी सहजै रूपमा ब्याज आउँछ भने किन उत्पादनमा लगाउने ? भन्ने प्रवृत्तिको विकास हुन जाने भएकाले त्यसको निराकरणका लागि मन्त्रालयले पहल गरिरहेको बताए ।

उनले पछिल्ला दिनमा देखिएको यस्ता समस्याको निरुपणका लागि गम्भीर किसिमको निष्कर्ष निकालिने र केही न केही हल आवश्यक रहेको स्पष्ट पारे । उनले उत्पादन क्षेत्रका लागि विशेष प्राथमिकता दिनुपर्ने र सबैले जिम्मेवारी लिने हो भने यस्ता समस्याहरु हल हुने विश्वास व्यक्त गरे ।