बेलायती महारानीको अन्त्येष्टिमा चीनको तर्फबाट उपराष्ट्रपति सहभागी हुने



बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टिमा चीनको तर्फबाट उपराष्ट्रपतिले सहभागिता जनाउने भएका छन् । चिनियाँ राष्ट्रपति सी चिनपिङको विषेश प्रतिनिधिका रुपमा उपराष्ट्रपति वाङ क्विशान अन्त्येष्टिका लागि बेलायत जाने भएका हुन् ।

बेलायत सरकारको महारानीको अन्त्येष्टि समारोहमा आतिथ्यता ग्रहण गर्न आग्रह गर्दै राष्ट्रपति सीलाई निमन्त्रणा गरेको थियो । उनको अन्त्येष्टि यही सेप्टेम्बर १९ मा लण्डनमा भव्य समारोहका साथ गर्ने तयारी बेलायती सरकारले गरेको छ ।


अन्त्येष्टि समारोहमा सहभागी हुन बेलायतले अधिकांश देशका राष्ट्र तथा सरकार प्रमुखहरुलाई निमन्त्रणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन पनि अन्त्येष्टिमा सहभागी हुन बेलायत प्रस्थान गर्दै छन् ।

विभिन्न देशबाट आएका पाहुनाहरु बेलायतका नयाँ राजा चाल्र्सद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुनेछन् ।

महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा निधन भएको थियो । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानीको ९६ बर्षको उमेरमा निधन भएको हो । उनको निधनमा बेलायतसहित धेरै देशका राष्ट्रिय शोक मनाउने घोषणा गरिएको थियो ।

औपचारिक रूपमा शोक प्रकट गर्न अहिले बेलायतका सरकारी र राजपरिवारसँग सम्बद्ध कार्यालयहरुमा झण्डा आधा झुकाइएको छ ।

तर राजा रहेको ठाउँमा भने झण्डा नझुकाइने अभ्यास रहेको छ । एउटा राजा वा रानीको निधन भएपनि अर्को राजाले तत्कालै जिम्मेवारी लिने भएकाले राजा रहेको ठाउँमा झण्डा नझुकाइने भएको हो ।

अन्य ठाउँमा झुकाइएका झण्डा भने महारानीको राजकीय अन्तिम संस्कार सकिएको भोलिपल्ट विहान ८ बजेसम्म नै आधा झुकाइने भएको छ ।