बुइपाको चिस्यान केन्द्र उद्घाटनमै सीमित



खाेटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको चिस्यान केन्द्र उद्घाटनमै सीमित बनेको छ । उद्घाटन गरेको ६ महिना बित्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । 

तत्कालीन संघीय सांसद विशाल भट्टराईको संसदीय विकास कोषबाट वितरण गरिएको स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको ५० लाख र नगरपालिकाको ४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको चिस्यान केन्द्र गत चैत २५ गते उद्घाटन गरिएको हो । चिस्यान केन्द्र निर्माण उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो । ३० टन भाण्डारण क्षमताको चिस्यान केन्द्रमा अहिलेसम्म ताला लगायएको छ ।  


बुइपाको पुरानो व्यापारिक केन्द्र पञ्चदोबाटोमा निर्माण गरिएको चिस्यान केन्द्रमा किसानले उत्पादन गरेका कृषिउपज न्यूनतम मूल्यमा भण्डारण गरेर राख्ने र बाहिरी जिल्लामा समेत निर्यात गर्ने योजना बनाइएको थियो । चिस्यान केन्द्रमा राख्दा हरियो तरकारी महिना दिनसम्म र फलफूल ४ महिनासम्म सुरक्षित रहने बताइएको थियो । 

किसानको उत्पादनको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणाअनुरूप चिस्यान केन्द्र निर्माण गरेर सञ्चालनमा ल्याइएको निवर्तमान नगरप्रमुख दीपनारायण रिजालले बताए । नगरपालिकाको स्वामित्वमा रहने चिस्यान केन्द्रको रेखदेख वडा कार्यालयले गर्ने बताइए पनि अहिलेसम्म कार्यविधि बनेको छैन । 

पञ्चदोबाटोको २ रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको चिस्यान केन्द्र उद्घाटन हुँदा बुइपाका स्थानीय कृषक हर्षित भएका थिए तर चिस्यान केन्द्र सञ्चालनमा नआएपछि अहिले उनीहरू निराश बनेका छन् । जिल्लाभरका किसान तथा कृषक समूहले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफूललगायतका कृषिउपज भण्डारण गर्ने गरी बुइपामा निर्माण गरिएको चिस्यान केन्द्र जिल्लाकै पहिलो हो ।  

बुइपाका उत्कृष्ट कृषक समूह छनोट गरेर चिस्यान केन्द्र सञ्चालनको जिम्मा दिने तयारी गरिए पनि नगरपालिकाले कार्यविधि नबनाएका कारण सञ्चालन गर्न नसकिएको वडाध्यक्ष दिनेश राईले बताए । ‘कृषक समूहले किसानका कृषिउपज भण्डारण गरेबापत मासिकरूपमा नगरपालिकालाई न्यूनतम भाडा बुझाउनुपर्छ,’ उनले भने, ‘यसका लागि नगरले कार्यविधि बनाएको छैन । अब चाँडै कार्यविधि बनाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।’