बम, विष र करेन्टले माछा लोप हुँदै



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोसी, भोटेकोसी, ब्रह्मायणी, इन्द्रावती, झ्याँडीलगायतका नदीमा बम, विष र करेन्ट लगाएर माछा मार्ने क्रम बढेपछि माछा लोप हुने स्थितिमा पुगेको छ ।

जलस्रोत ऐनमा बम, विष र करेन्ट लगाएर माछा मार्न नपाइने गरी बन्देज लगाइएको छ । बम, विष र करेन्ट प्रयोग नगर्न प्रशासनले ठाउँठाउँमा होर्डिङ बोर्ड राखी कारबाही गर्ने चेतावनी दिएको पनि पाइन्छ तर न माछा मार्ने काम रोकिएको छ, न त कुनै कारबाही नै । केही वर्षदेखि माछा मार्न १२ भोल्टको ब्याट्री प्रयोग गर्ने गरेकाले सबै किसिमका जलचर प्राणी सखाप भएको साँगाचोकका केशव गिरीले बताए ।


यस्ता कार्यमा संलग्न व्यक्तिउपर खबर गरे कारवाही गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले बताए ।

बम, विष र करेन्ट लगाउने चलन बढेकाले झ्याँडी खोलामा माछा मात्र होइन कीरासम्म देखिन छाडेको कुञ्चोकका यमबहादुर आचार्य बताउछन् । यस्ता कार्यमा आसपासका बासिन्दा संलग्न हुँदै आएको भीमटारमा सीताराम दनुवार बताउछन् ।

माछा मार्नका लागि प्रयोग गरिने जाल, खुङ्गा, पासो, धिमिरेजस्ता परम्परागत प्रविधि झन्झटिलो र धेरै मेहनत गर्नुपरेकाले पछिल्ला वर्षमा बम पड्काउने, विष हाल्ने र करेन्ट लगाउने जस्ता कार्य हुँदै आएको दनुवारले बताए ।