पहिरो खसेपछि देवघाटको गलेश्वर आश्रम जोखिममा



देवघाट । पवित्र तीर्थस्थल देवघाटको वेणी नजिक रहेको गलेश्वरआश्रम नजिकै पहिरो खसेपछि आश्रम जोखिममा परेको छ । त्रिशूली नदीतर्फ आज बिहान ठूलो पहिरो खसेपछि वेणी जाने सडक र आश्रम जोखिममा परेको हो ।

आश्रमका सञ्चालक महेन्द्रराज प्याकुरेलका अनुसार आज बिहान ५ः४५ बजे ठूलो पहिरो खसेको थियो । यसअघि पनि उक्त ठाउँमा पहिरो खसेको थियो । आजको पहिरोसँगै वेणी जाने सडक बन्द गरिएको छ । आश्रमको भवनको १० मिटर परसम्म जोखिम देखिएपछि समस्या भएको उनले जानकारी दिए ।


विसं २०७२ मा भूकम्प आएसँगै चर्किएको क्षेत्र बर्सातको समयमा झरेको हो । त्यसयताका वर्षमा पहिरो थप झरेपछि सङ्घीय सरकारको सिँचाइ विभागले गुरुयोजना निर्माण गरेको थियो । यद्यपि काम नभएको उनको भनाइ छ ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले यसअघि नै सङ्घीय सरकार र प्रदेश सरकारलाई पहिरो रोकथामका लागि अनुरोध गरिएको बताए । उनले भने, “आज पनि पुनः हामीले पत्राचार गरेका छौँ ।” सीमित स्रोत साधनका कारण समितिले काम गर्न सक्ने अवस्था नरहेकाले प्रदेश र सङ्घमा अनुरोध गरिएको उनको भनाइ छ ।

त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल वेणीमा दैनिक भक्तजन सोही बाटो हुँदै जाने गर्दथे । माघे सङ्क्रान्तिको समयमा लाखौँको सङ्ख्यामा आउने भक्तजन सोही बाटो हुँदै जाने आउने गर्दथे । तत्कालै समस्या देखिएको घिमिरेको भनाइ छ । यससँगै आश्रम जोखिममा परेको घिमिरे बताउछन् । त्रिशूलीको कटानका कारण जुनसुकै बेला थप पहिरो खस्न सक्ने चिन्ता गरिएको छ । देवघाट गाउँपालिका–५ मा सो पहिरो पर्दछ ।