पर्यटकीय गन्तव्यस्थल बन्दै ‘ऐनापहरा झरना’



दमौली । गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीस्थित ऐनापहरामा एउटा मनमोहक झरना छ । हरियाली जङ्गल । खोँचबाट झरेको पानीले ऐनापहरा झरना पुग्ने जो कसैको पनि मन लोभ्याउँछ । थकित मुद्रामा यहाँ पुग्नेहरु आनन्दित भएर फर्किन्छन् ।

आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा रहेको ऐनापहरा झरना पर्यटकको आकर्षक गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । पृथ्वीराजमार्गबाट एक मिनेटको दूरीमा पुगिने ऐनापहरा झरना आकर्षक पर्यटकीयस्थलका रुपमा विकास हुँदै गएको हो ।


राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलका रुपमा पनि ऐनापहरा झरना विकास भइरहेको आँबुखैरेनी गाउँपालिका–३ का वडा सदस्य मनोजकुमार श्रेष्ठले जानकारी दिए । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका लागि यतिबेला तनहुँ खण्डमा धमाधम काम भइरहेको छ । जसले गर्दा राजमार्गको यात्रा सकसपूर्ण छ ।

त्यसमाथि धुवाँधुलोले गर्दा सर्वसाधारणलाई समस्या भइरहेको छ । धुवाँधुलो र कष्टपूर्ण यात्राको थकान मेट्नका लागि ऐनापहरा झरना उपयुक्त माध्यम बनिरहेको बताइन्छ । म्याग्दे गाउँपालिका–७ हर्षपुरका मोहन बरालीले राजमार्गका क्रममा यात्रा गर्दा ऐनापहरा झरनामा पुगेर आराम गर्दा आनन्द आउने बताए ।

पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भएपछि आँबुखैरेनी गाउँपालिकाले यहाँ पूर्वाधार थप गर्ने लक्ष्य लिएको छ । ऐनापहरामा पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा रु एक करोड ४० लाख विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । यहाँ स्काई साइक्लिकिङ, सिसाको पुल बनाउने योजना बनाइएको छ ।

सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भीड बढ्न थालेको छ । झरनामा दैनिक तीन सयदेखि चार सय सर्वसाधारण झरनामा पुग्ने गरेका छन् ।

तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न डिपिआर अनुसार रु १० करोड बजेट आवश्यक पर्छ ।

पिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङ लगायतका संरचना निर्माण गर्ने उल्लेख छ । पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भएको यस ठाउँमा केही दिनअगाडि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको संयुक्त टोलीले सरसफाइ गरेको थियो ।