थप ५४० जनामा डेंगु संक्रमण, दुई जनाको मृत्यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ५४० जनामा डेंगु संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु संक्रमितकाे संख्या २८ हजार १०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा डेंगुका कारण थप दुई जनाको मृत्यु भएको छ । योसँगै यसवर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । 


नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुको बिरामी भेटिएका थिए । त्यसपछि प्रत्येक वर्ष डेंगुका बिरामी भेटिँदै आएका छन् । यसवर्ष देशका ७७ मध्ये ७६ जिल्लामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले सबैभन्दा बढी डेंगुका बिरामी बागमती प्रदेशमा भेटिएका छन् । बागमती प्रदेशमा २१ हजार ९७५ जना डेंगुका बिरामी भेटिसकेका छन् । 

गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८२९, मधेश प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ६७७, लुम्बिनी प्रदेशमा ३ हजार १२५, कर्णाली प्रदेशमा २३८ र सुदूरपश्चिम प्रदेशमा ८५० जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले डेंगुबाट बच्न फोहर जम्मा भएको ठाउँ सफा गर्न र पूरा बाहुला भएको कपडा लगाउन अनुरोध गरेको छ ।विज्ञहरूले डेंगु जोखिम कायम रहेको भन्दै सचेत रहन आग्रह गरेका छन् ।