कृषकलाई पोषिलो घाँसको बीउ वितरण



अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक पशुपालक कृषकलाई उन्नत जातको पोषिलो घाँसको बीउ विरतण गरेको छ । उन्नत जातको बर्सिम तथा जै घाँसको बीउ कृषकको मागका आधारमा निःशुल्क वितरण गरिएको नगरपालिकाका पशु शाखा प्रमुख नारायण खनालले बताए ।

कृषकलाई घाँसको बीउ वितरण गर्दै नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यले दूध उत्पादन बढाउन तथा कृषकलाई आम्दानीमा वृद्धि गर्न घाँसको बीउ वितरण गरिएको बताए । उनले व्यावसायिक पशुपालक कृषकलाई नगरपालिकाले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताए ।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले पशुपालक कृषकको लागतमा कमी ल्याउन तथा पोषिलो घाँसबाट दूध तथा दुग्धजन्य पदार्थमा वृद्धि गर्न निःशुल्क घाँसको बीउ वितरण गरिएको बताए । उनले कृषि र पशुपालनबाट मात्रै आर्थिक समृद्धि हुने तथा उत्पादन बढ्ने भएकाले व्यावसायिक कृषि र पशुपालनमा लाग्न कृषकलाई आग्रह गरे ।