उपत्यकामा अखाद्य वस्तु छ्याप्छ्याप्ती, बजार अनुगमन टोलीले गर्यो जफत



काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले बिहीबार काठमाडौंका विभिन्न ठाउँमा अनुगमन गरेर अखाद्य बस्तु जफत गरेको छ । जफत गरिएका सामानहरुमध्ये साल्ट ट्रेडिङ कर्पोरेसनको जडीबुटी बिक्री केन्द्रबाट अखण्ड व्राण्डका २० केजी तौलका ६ बोरा चामल, यही व्राण्डका २५ केजी तौलका २ बोरा चामल र १ केजी तौलका १७ प्याकेट मकैको च्याँख्ला बिक्री गर्न रोक लगाएको हो ।

उत्पादन अनुज्ञा पत्र नभएकोले यी सामान विक्रीमा रोक लगाइएको खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा. अवधेश झाले बताउनुभयो । डा. झाकाअनुसार पुरानो सिनामंगल मन्दिर नजिक केएफसी फास्डफुडमा भेटिएको अखाद्य २ लिटर तेल, २५० एमएलका ५ बोतल एप्पल साइडर भेनेगर नष्ट गरिएको छ ।


पेप्सीकोला टाउन प्लानिङ् फुटबल ग्राउण्ड नजिक रहेको द बर्गर हाउस एण्ड क्रन्ची फ्राइ चिकेनको भान्छामा प्रयोग भइरहेको १४ लिटर तेल र यही तेलमा फ्राइ गरिएको १ किलोग्राम कुखुराको मासु नष्ट गरिएको छ ।

आँखाले स्पष्ट देखिने गरी सडेगलेको हुनाले नष्ट गरिएको अभिलेख उतार गर्दै अनुगमनकै क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँका खाद्य निरीक्षक नवराज आचार्यले साल्ट टेडिङ्, केएफसी फास्टफुड र द बर्गर हाउसलाई ७ दिनभित्र खाद्य अनुज्ञा पत्र लिएर कार्यालयमा उपस्थित हुन पत्र दिएका छन् ।

अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको हरेक शाखामा खाद्य अनुज्ञा पत्र राख्न र प्याकेजिङ्का लागि घरेलु तथा साना उद्योग कार्यालयको इजाजत पत्र लिन अनुगमन निर्देशन दिएको छ । बिहीबारै विहान संकटा गणेश मन्दिरबाट धरहरातर्फ रहेका मासु पसलहरुको अनुगमन भएको थियो ।

अनुगमनका क्रममा व्यवसायीलाई सोधिएको प्रश्नको जवाफ सुन्न लायक थियो । अनुगमनका प्रतिनिधिको प्रश्न थियो, ‘मासु काट्दा एप्रोन लगाउनु पर्ने किन नलगाउनु भएको?’ व्यवसायीको उत्तर आयो, ‘विहान कामको चाप हुन्छ । त्यसैले लगाउनै भ्याइँदैन ।’ अनुमगनकर्ताले अर्को प्रश्न सोधे, ‘ढक तराजु नविकरण गराउनु भएकै रहेनछ । यो त गैरकानुनी भयो नि’, व्यवसायीले उत्तर दिए, ‘यो गराउन कहाँ जानु पर्छ हामीलाई थाहा त छैन । बरु, वडालाई यतै पठाइदिनु न ।’

माछा मासु पसल हेर्ने क्रममा खिचापोखरीबाट आरवी कम्प्लेक्सतर्फको सडक खण्डका मासु तथा मासुजन्य अचार, सुकुटीलगायतका सामान विक्री गर्ने पसलहरुको अवस्था पनि तत्काल सुधार गर्नुपर्ने खालको छ । नापतौलका सामान नविकरण नगर्नुमा व्यवसायी संघलाई देखाउँदै हरेक २ बर्षमा संघले नविकरण गराइदिने जवाफ दिए ।

मासु तथा मासुजन्य खाद्यबस्तु उत्पादन गर्नेहरुको साझा समस्या छ । मासु खुल्ला रुपमा प्रदर्शनमा राख्नु, सरसफाइमा ध्यान दिन नसक्नु, डि फ्रिजको राम्ररी उपयोग नहुनु, फ्रिजमा लामो समयसम्म सामान भण्डार गरेर राख्नु, खसी तथा कुखुरा बध स्थल र उनीहरुलाई राख्ने ठाउँ एउटै हुनु, व्यापारीले स्वास्थ्य मापदण्ड पालना नगर्नु सबै पसलमा देखिने समस्या हुन् ।

मासुजन्य खाद्यबस्तुको उत्पादन गर्न खाद्य अनुज्ञा पत्र नलिनु, प्याकेटमा लेवल नराख्नु, उत्पादन मिति र उपभोग्य मिति उल्लेख नहुनु, सुकुटीहरु खुल्लै राख्नु, प्याकेजिङ्का लागि अनुमति नहुनु मासुजन्य खाद्यबस्तु उत्पादकसँग सम्बन्धित समस्या हुन् ।