अधिकारी र धिमाल निर्वाचित भएसँगै एन्फाको कार्यसमिति पूरा



काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् ।

एन्फाको आज बसेको विशेष साधारणसभामा भएको पुनः निर्वाचनबाट अधिकारी र धिमाल निर्वाचित भएको हो । निर्वाचित अधिकारी एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा समूहका छन् भने धिमाल एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्बाङ समूहका छन् ।


अधिकारीले ५४ मत प्राप्त गरे भने धिमालले ४७ मत प्राप्त गरे । सदस्यकै प्रत्याशी लोकन्द्र गुरुङले ४५ र दीपक थापाले सात मत प्राप्त गरे । यसअघि गत असार ६ गते सम्पन्न निर्वाचनमा १५ सदस्य निर्वाचित हुनुपर्नेमा १३ जनामात्र निर्वाचित भएको थियो ।

उक्त निर्वाचनमा चारजनाकै समान ३९ भोट आएको थियो जसको कारण दुई सदस्यको टुङ्गो लागेको थिएन । यी दुई सदस्य निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय कार्यसमिति पूरा भएको छ । यसअघिको निर्वाचनमा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित वरिष्ठ उपाध्यक्ष, चारजना उपाध्यक्ष र १३ सदस्य निर्वाचित भएका थिए ।