अख्तियारमा एकवर्षमा १६ हजारभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/०७९ मा १६ हजार २३८ वटा उजुरी दर्ता भएको बताएको छ । बुधबार पत्रकार सम्मेलन गरी आयोगले आर्थिक वर्ष २०७७/०७८ बाट जिम्मेवारी सरेर आएका उजुरी ८ हजार ९३ सहित कुल उजुरीको संख्या २४ हजार ३३१ रहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

उनले गत आर्थिक वर्षमा आयोगको कार्यालय टंगालका उजुरी १२ हजार ३ सय र मातहत कार्यालयहरुका उजुरी १२ हजार ३१ गरी कुल २४ हजार ३३१ रहेको बताए । उनले लिखित निवेदन ४ हजार ४९५ अर्थात् २७.७ प्रतिशत, हुलाक सेवाबाट २ हजार ७६० अर्थात १७ प्रतिशत, इमेलमा २ हजार ७५७, वेभसाइटमा २ हजार १६५, टेलिफोन ७५०, समाचारपत्रमा २९०, मोबाइल एपमा १०२, फेसबुकमा ९३, भाइबर १५, एसएमएसमा ४ र अन्य श्रोतमा २ हजार ८०७ गरी १६ हजार २३८ उजुरी गत आर्थिक वर्षमा दर्ता भएका बताए ।


प्रवक्ता भण्डारीले भ्रष्टाचार सम्बन्धी सबैभन्दा धेरै मधेस प्रदेशका उजुरी दर्ता भएका बताए । उनले मधेस प्रदेशमा २४.२५ प्रतिशत, वागमती प्रदेशमा २४.१३ प्रतिशत, लुम्बिनी प्रदेशमा १४.१, प्रदेश १ मा ११.६१, सुदूरपश्चिममा १ण्.२०, कर्णालीमा ८.१८ र गण्डकीमा ७.६२ प्रतिशत उजुरी दर्ता भएका बताए ।

सबैभन्दा कम उजुरी गण्डकी प्रदेशमा रहेको तथ्यांकले देखाएको छ । त्यस्तै प्रारम्भिक छनोटबाट गत आर्थिक वर्षमा फछ्र्यौट भएका उजुरी कुल उजुरी २४ हजार ३३१ मध्ये १७ हजार १६९ उजुरी अर्थात (७०.६) प्रतिशत उजुरी फछ्र्यौट भएका छन् । त्यस्तै बाँकी आगामी आर्थिक वर्षमा सरेका ७ हजार १६२ उजुरी रहेका छन् ।

प्रवक्ता भण्डारीले विस्तृत अनुसन्धानबाट आर्थिक वर्ष २०७८/०७९ मा भएको कारबाही संख्या ९१४ रहेको बताए । मुद्दा दायर १३०, सुझाव ८०, लेखि पठाइएको १७, तामेली ६३७, मुल्तबी ९ र अन्य ४१ कारबाहीमा परेका छन् । आज नै आयोगले आयोगको ३२ औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।

संविधानअनुसार सबै संवैधानिक निकायले वर्षभर सम्पादन गरेका कार्यहरूको विवरण समावेश भएको प्रतिवेदन पेस राष्ट्रपतिसमक्ष पेस गर्ने संवैधानिक व्यवस्था छ ।