सडक अतिक्रमण हटाउन शिवतासक्षी नगरपालिकाको निर्देशन



झापा । सडक दुर्घटना न्यूनीकरण गर्नका साथै स्वच्छ तथा सफा पालिका बनाउने उद्देश्यले शिवसताक्षी नगरपालिकाले सडकमा रहेका सबै प्रकारका अतिक्रमण हटाउन निर्देशन गरेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले सूचना नै जारी गरेर सात दिनभित्रमा नगरभित्रका सडक अतिक्रमण हटाउन सबैलाई निर्देशन दिएका हुन् ।


पूर्व-पश्चिम लोकमार्ग र नगरका सहायक मार्गमा छाप्रा, टहरा निर्माण गर्ने तथा निर्माण सामग्री राख्ने, सडक किनारमा दलहन बाली लगाउने, पशु चौपाय बाँध्ने, बिस्कुन सुकाउने सडकका नाली अतिक्रमण गर्ने कार्यले सवारीसाधान आवागमनमा समस्या भई दुर्घटना हुने गरेको र वातावरणसमेत दूषित हुने भएकाले नगरले सूचना नै जारी गरेर हटाउन माग गरेको प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।

उनले स्थानीय क्षेत्रमा हुने सम्भावित जोखिमको अवस्थालाई मध्यनजर गरी सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य राखेर मंगलबार सूचना प्रकाशन गरेको बताए । सूचनालाई अटेर गरी अतिक्रमण नहटाएको वा सो कार्य गरिरहेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here