राष्ट्रपतिको अपमान गर्नुलाई सत्तारुढ गठबन्धनले आफ्नो महानता ठानेको छ : ओली



काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा सत्तारुढ गठबन्धनबाट आएको प्रतिक्रियाको आलोचना गरेका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयकमा विषयमा राष्ट्रपतिले पुनर्विचार गर्ने कि भनेर दिएको सन्देशमा पाखुरा बजारेर गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाए ।


 ‘राष्ट्रपतिज्यूले पुनर्विचार गर्ने कि भन्नुभयो । नगर्ने (आफ्नै पाखुरा सुर्क्याउँदै) उहाँहरूको त्यस्तो विचार छ । बाहिर बसेर, अनाडी मान्छे भेला भएर, अनधिकृत ठाउँमा, संविधानले नचिनेका मान्छे बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो,’ ओलीले भने, ‘असभ्यता, कुसंस्कार, अलोकतान्त्रिक संस्कारको निर्लज्ज प्रयोग यो गठबन्धनले गरिरहेको छ । यसले आफ्नो महानता राष्ट्रपतिको अपमान गर्नु ठानेको छ ।’

ओलीले राष्ट्रपतिलाई कुन विधेयक संसद्‍मा लैजाने भन्नेबारे पहिल्यै जानकारी गराउनुपर्ने संवैधानिक व्यवस्था उल्लंघन गरेको पनि आरोप लगाए । संविधानको धारा ८१ मा राष्ट्रपतिलाई विधेयक, वैदेशिक मामिला लगायतका विषयमा जानकारी गराउनुपर्ने व्यवस्था छ । ‘मैले संसद्‍मा १ वर्षअगाडि नै बोल्दा भनेको थिए संविधानको धारा ८१ तर्फ ध्यान जाओस्, संविधानको पालना सरकारले गरोस् । संविधानले विधेयकहरू संसद्‍मा पेस गर्नु अगाडि राष्ट्रपतिसँग परामर्श गर्नुपर्छ, स्वीकृत गर्नुपर्छ । राष्ट्रपतिलाई ब्रिफिङ गर्नुपर्छ,’ उनले भने । सरकारले संविधानको उक्त व्यवस्था पालना नगरेको ओलीको दाबी छ ।