न्यायालयले समयमा मुद्दा फछ्र्याैट गर्न नसक्नु पनि भ्रष्टाचार हो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ



काठमाडाैँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायालयले समयमा मुद्दा फछ्र्याैट गर्न नसक्नु पनि भ्रष्टाचार भएको बताएका छन् ।

मानव अधिकार पत्रकार सङ्घ (हुर्जा)द्वारा शुक्रबार आयोजित ‘भ्रष्टाचारविरुद्धको महासन्धि, सुशासन र विधिको शासन’ विषयक कार्यक्रममा उनले समयमा न्यायापालिकाले न्याय दिन नसक्नु पनि भ्रष्टाचार भएको उल्लेख गरे । “न्यायलयले समयभित्र मुद्दाको छिनोफानो गर्न नसक्नु पनि भ्रष्टाचार हो”, उनले भने, “समयमा काम नसक्ने मानसिकता नै भ्रष्टाचार हो ।”


पूर्वप्रधानन्यायाधीश श्रेष्ठले समयमा फैसला भइ दोषीले सजाय पाए मात्र पीडितले न्याय पाएको महसुस गर्ने धारणा व्यक्त गरे । न्यायालयले विकास निर्माणका काममा पनि अवरोध गर्न नहुने तर कानुनविपरीत भएका विकास निर्माणका काम भए रोक्नुपर्ने उनको भनाइ थियो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्पक्षरुपमा भ्रष्टाचारको अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै भने, “भ्रष्टाचारको कुरामा पक्ष वा विपक्ष हेर्नु हुँदैन, बेरुजु न्यूनीकरण गर्नेतर्फ सरोकारवालाको ध्यान जानुपर्छ ।” उनले भ्रष्टाचारी जत्रोसुकै भए पनि पत्ता लाग्ने बित्तिकै कारबाही गर्नुपर्नेमा जोड दिए ।