सर्वोच्चमा रिट हाल्न लगाई निर्वाचन सार्न सक्ने सम्भावना छः केपी ओली



काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका छन् । विदेशी सञ्चारमाध्यममा काम गर्ने नेपालस्थित पत्रकारहरू र कूटनीतिक विषयका पत्रकारहरूसँग बिहीबार भएको अन्तरक्रियामा अध्यक्ष ओलीले निर्वाचन घोषणा स्वाभाविक भएको तर निर्वाचन हुन्छ भनेर अझै ढुक्क हुने अवस्था नभएको बताए ।

सरकारले नागरिकता विधेयक ल्याएको र नागरिकता वितरण बाँकी रहेको अवस्थाका कारण यस विषयमा रिट हाल्न लगाई निर्वाचन सार्न सक्ने आशङ्का उनले व्यक्त गरे ।


अध्यक्ष ओलीले भने, ‘निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण हुनुपर्छ तर यो सरकार निर्वाचन गराउन लायक छैन भन्ने कुरा प्रमाणित भइसकेको छ । यो गठबन्धनले निर्वाचनमा राज्यशक्तिको दुरूपयोग गर्ने कुरा स्थानीय तहको निर्वाचनबाट प्रमाणित भइसकेको छ । यसलाई स्वच्छता, पारदर्शिता पालना गर्नुपर्छ भन्ने नै लाग्दैन । भ्रष्ट भइसकेको र सदाचारमा नबस्ने यो सरकारले निर्वाचन गराउने नैतिक हक राख्दैन ।’

स्थानीय निर्वाचनमा सत्तापक्षका लागि बुथ कब्जामा प्रहरी प्रयोग भएको, प्रमुख जिल्ला अधिकारी अन्यायी भएको र अहिले देशभर सबैतिर प्रहरी प्रशासन सेटिङ गरेर राखिएको चर्चा गर्दै अध्यक्ष ओलीले ‘निर्वाचन निष्पक्षताको ग्यारेन्टी गर्नुपर्ने’ बताए।

सरकार गलत मनशायबाट चलिरहेको र यसका काम देश र जनताको हितमा नरहेको चर्चा गर्दै अध्यक्ष ओलीले भने,‘हामीले शान्ति प्रक्रिया उपयुक्त ढङ्गले सहमतिका साथ टुङ्गो लगाउनुपर्छ, परिपुरण, क्षतिपूर्ति, मेलमिलाप र क्षमाको माध्यमबाट टुङ्याउनुपर्छ भन्छौं तर यो गठबन्धनले पीडितलाई अझ पीडा थप्ने काम गर्दै छ ।’

अहिले द्वन्द्वकालका दुुईवटा पीडकहरू मिलेर पीडितलाई पेल्ने काम भइरहेको भन्दै अध्यक्ष ओलीले यिनीहरू सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय प्रचलन र हाम्रो प्रतिवद्धता विपरीत कदम चालिरहेको बताए ।

अमानवीय ढङ्गले हत्या गरिएका घटना जुन मानवता विरोधी गम्भीर अपराधका रूपमा रहेका भन्दै अध्यक्ष ओलीले तिनलाई ढिसमिस पार्ने कामका लागि चिप्ले कुरा गर्ने मानिसलाई कानूनमन्त्री बनाएको बताए ।

अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुङ्गो लगाउने नाममा सरकारले ल्याएको विधेयक पीडितलाई थप पीडा दिने खालको भएको र त्यसमा सहमत हुन नसकिने वताए ।

प्रधानन्यायाधीशमाथिको महाभियोग पाँच महिना वितिसक्दा पनि टुङ्गो नलगाई राख्नु अख्तियारको दुरूपयोग हो भन्दै अध्यक्ष ओलीले महाभियोग प्रस्ताव रोकेर सभामुखले पदीय मर्यादा विपरीत, गैरजिम्मेवार र लज्जाजनक काम गरेको बताए ।

उनले भने, ‘निर्वाचनमा एमालेका लागि एजेण्डाको खोजी गरिरहनुपर्दैन । एमालेको मुल एजेण्डा भनेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो । यसभित्र सामाजिक न्याय र समानता, सुशासन, लोकतन्त्रको वास्तविक कार्यान्वयन लगायत धेरै कुरा समेटिन्छन् । हाम्रो एजेण्डा राष्ट्रियता पनि हो, राष्ट्रियताको कुरा गर्दा हामीले न्यायोचित हकको कुरा गरिरहेका छौं ।’ ‘छिमेकीसँग समस्यारहित सबल, सुदृढ र सन्तुलित सम्बन्ध कायम गर्न चाहन्छौं । हामी एक चीन नीतिमा विश्वास गर्छौं, मान्छौं । अरूको हितका लागि छिमेकी विरूद्ध हाम्रो भूमि प्रयोग हुन दिँदैनौं । हामी छिमेकीसँगको सम्बन्ध धोखापूर्ण र अविश्वासी होइन, भरपर्दो सम्बन्ध चाहन्छौं ।’‘संसारका कुनै पनि देशले अरूको आन्तरिक मामिला र संवेदनशीलता बुझ्नुपर्छ, तनाव सिर्जना हुने क्रियाकलाप कसैले पनि गर्नुहुँदैन’ भन्दै अध्यक्ष ओलीले भने, ‘हामी छिमेकमा शान्ति होस्, विश्वमा शान्ति होस् भन्ने चाहन्छौं । यो हाम्रो वैदिक कालदेखिको सनातन धारणा हो ।’

गठबन्धन सरकारले नेपालको भूराजनीतिक अवस्थालाई विर्सेर छिमेकसँगको सम्बन्धमा सन्तुलन गुमाउने खालका क्रियाकलाप गरिरहेको भन्दै अध्यक्ष ओलीले छिमेकसँगको सम्बन्धमा आफूले नेपालको राष्ट्रिय हित विपरीत कुनै काम नगर्ने, कुनै कदम नचाल्ने प्रतिबद्धता व्यक्त गरे ।