सङ्गठित हुन थाले स्थानीय तहका स्वतन्त्र उम्मेदवार



काठमाडाैँ । सरकारले सङ्घीय र प्रदेशसभाको निर्वाचन घोषणा गरेसँगै गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका स्वतन्त्र उम्मेद्वार सङ्गठित हुन थालेका छन्। सङ्गठितरूपमा आगामी संसदीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढ्न थालेको छ।

गत वैशाख महिनामा गोकर्णेश्वर नगरपालिकाको जनप्रतिनिधिमा स्वतन्त्र उम्मेदवारी दिएकाहरूले स्वतन्त्र अभियान नै घोषणा गरेर उम्मेदवार छनोट प्रक्रिया सुरु गरेका हुन्। अभियान घोषणा गर्न आयोजित कार्यक्रममा केहीले भने उम्मेदवारी पनि घोषणा गरेका छन्। स्वतन्त्र उम्मेदवारले आगामी निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ३ मा उम्मेदवारी घोषणा गरेका हुन्।


काठमाडौँ क्षेत्र नं ३ मा पर्ने गोकर्णेश्वर नगरपालिकामा विभिन्न दल परित्याग गरी स्वतन्त्र उम्मेवारी घोषणा गरिएको हो। नेपाली कांग्रेस गोकर्णेश्वर नगर समितिको सभापति भई नेतृत्व गरिरहक्नुभएका श्रीकृष्ण ज्योतिले आगामी निर्वाचनमा आफूले स्वतन्त्र उम्मेदवारी दिने बताउनुभयो। गत स्थानीय निर्वाचनअघिदेखि पार्टी छाडेको घोषणा गरेका ज्योति यो निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउने तयारीमा लागेको सुनाउछन्।

यसैगरी स्वतन्त्र भएरै निरञ्जन पुडासैनी र कुमार श्रेष्ठलगायतले पनि यसै निर्वाचनमा भाग लिने बताए। कार्यक्रममा गत स्थानीय तहको निर्वाचनमा नगरप्रमुख पदमा उम्मेदवारी दिएका विनय सिम्खडा, वडा नं २ का अध्यक्ष प्रेम श्रेष्ठ, वडा नं ८ को अध्यक्ष पदका उम्मेदवार आकाश क्षेत्रीलगायतको सहभागिता थियो। सिम्खडा नेकपा (एमाले) छोडी स्वतन्त्र अभियानमा सहभागी भएको हो। उनीहरूले विधिअनुसार शासन चलाउनका लागि पनि स्वतन्त्र अभियानको आवश्यकता रहेकामा जोड दिए।  

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नगरपालिकाको वडा नं ४ मा स्वतन्त्र उम्मेदवारी दिएका जयराम महत वडाध्यक्षमा निर्वाचित भएका थिए। यसबाट हौसिएका स्वतन्त्र अभियानकर्मीले स्वतन्त्रबाट एकमात्र उम्मेदवार चयन गरी निर्वाचित गराउनुपर्नेमा जोड दिएका छन्।