रुकुम​मा पञ्जीकरणको जिम्मा स्वास्थ्यचौकी इञ्चार्जलाई



रूकुम । रुकुम पूर्वको पृथा उत्तरगङ्गा गाउँपालिकाको सबै वडा सचिवविहीन छन् । सुरुदेखि नै सचिवविहीन बनेका वडामा स्वास्थ्यचौकी इञ्चार्जले पञ्जीकरणको काम गर्दै आएका छन् ।

वडा सचिव नभएपछि गाउँपालिकाले नै सबै वडामा वडा सहायक खटाएको छ । वडा सहायकले वडाबाट हुने सबै कामकाजको कागजपत्र मिलाउने, सिफारिस तयार पार्ने गर्दछन् । वडाबाट नजिक पर्ने स्वास्थ्यचौकीका इञ्चार्जले हस्ताक्षर गरेर अहिलेसम्म कामकाज चल्दै आएको पृथा उत्तरगङ्गा गाउँपालिका– ५ का वडाध्यक्ष एवं गाउँ कार्यपालिकाका प्रवक्ता टिकासाई घर्तीले बताए । कतिपय वडामा झन कागजात तयारको काम कार्यालय सहयोगीले पनि गर्दै आएको उनले बताए ।


घर्तीका अनुसार गाउँपालिकाको १, २, ३, ४, ९ र १२ नं वडामा वडा सचिवको काम गाउँपालिकाका स्वास्थ्य संयोजक एवं मैकोट स्वास्थ्यचौकीका इञ्चार्ज समीर गिरीले गर्दै आएका छन् । वडा नं १, २, ३, ४ र ९ नं का नागरिक वडाबाट सिफारिसलगायत अन्य कागजातमा हस्ताक्षर गराउनुप¥र्यो भने फाइल बोकेर तकसेरा आउने गर्दछन् । मैकोट गएको खण्डमा मैकोटबाट झर्ने बेलासम्म १२ नं वडाका नागरिकले कागजातमा हस्ताक्षरको लागि गिरीलाई पर्खनुपर्ने अवस्था रहेको प्रवक्ता घर्तीले बताए ।

प्रवक्ता घर्तीका अनुसार गाउँपालिकाको ५ र ६ नं वडामा स्वास्थ्यचौकी हुकामका इन्चार्ज हेमन्त बुढाथोकीले पञ्जीकरणको काम गर्दै आएका छन् । ७ र ८ नं वडामा स्वास्थ्य चौकी रिबाङचौर जाङका इन्चार्ज, १०, ११ र १३ नं वडामा स्वास्थ्यचौकी तकसेराका इञ्चार्ज कलिभान विष्ट र १४ नं वडामा स्वास्थ्यचौकी राङ्सीका इञ्चार्ज सरोज यादवले पञ्जीकरणको जिम्मेवारी सम्हाल्दै आएका छन् । भौगोलिक विकटता भएको यस क्षेत्रका नागरिक दुईतीन दिन लगाएर एउटा सिफारिस बोकेर रुकुमकोट पुग्ने र त्यही सिफारिस नमिल्दा सिफारिस बनाउन तीन दिन लगाएर मैकोट/पेल्मा फर्कनुपर्ने अवस्था रहेको छ ।

यता गाउँपालिका स्वास्थ्य संयोजक समीर गिरीले स्वास्थ्यचौकी इञ्चार्जले पञ्जीकरणको काम सम्हाल्दा स्वास्थ्य क्षेत्रको काम प्रभावित हुने गरेको बताए । वडा सचिवविहीन हुँदा पञ्जीकरणको सबै काम अस्तव्यस्त हुने गरेको गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले बताए । वडा सचिव नहुँदाखेरी नै यस गाउँपालिकाभित्रका धेरै नागरिकको समयमै मृत्यु, जन्म, विवाह दर्ता नहुने गरेको पाइएको छ । कतिपय नागरिकले उमेर पुगेर पनि वडाबाट आवश्यक कागजात नबन्दा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको पाइएको गाउँपालिका अध्यक्ष घर्तीले बताए । 

यस गाउँपालिकामा स्थानीय तहको चुनाव भइसकेपछि सुरुको वर्षमा १० नम्बर वडामा मात्र एक सचिव आएको र उनी पनि दुई चार महिना बसेर गएका थिए । त्यसपछि आजका दिनसम्म यस गाउँपालिकामा एक जना पनि वडा सचिव आएका छैनन् । पहिलो कार्यकालको स्थानीय सरकारले एक पटक दरबन्दी अनुसारको कर्मचारी माग गरी मन्त्रालयमा पठाएको थियो ।

कर्मचारी नपठाएपछि त्यसपछि भने गाउँपालिकाले कर्मचारी माग गर्नै छोड्यो । अहिले नयाँ जनप्रतिनिधि आएपछि भर्खरै मात्रामा गाउँपालिकाको रिक्त रहेको पदमा कर्मचारी माग गरी पठाएको गाउँपालिकाका अध्यक्ष घर्तीले बताए । गाउँपालिका पनि विगत तीन वर्षयता निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको छ । अहिले गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित लेखा, कृषि, पशु, शिक्षा, कम्युटर अपरेटरमा एकएक जना मात्र स्थायी कर्मचारी छन् । उनीहरु पनि सबै निमित्त हुन् । प्राविधिक शाखा सबै खाली छ । स्वास्थ्यमा २३ जना स्थायी कर्मचारी रहेका छन् ।

यस्तै गाउँपालिकाले गएको पाँच वर्षे कार्यकालमा भर्ना भएका सबै करार कर्मचारीको सम्झौता नवीकरण गरेको छैन् । नयाँ आर्थिक वर्ष सुरु भएसँगै करार सम्झौता नवीकरण नगरेको गाउँपालिकाले अहिले सबै कर्मचारी नयाँ भर्ना गरिरहेको छ । पहिलो चरणमा गाउँपालिकाले कृषि, पशु, शिक्षा र स्वास्थ्य क्षेत्रको लागि १२६ जना करार कर्मचारीको माग गरेको थियो । अहिले यी क्षेत्रमा कर्मचारी व्यवस्थापनको लागि परीक्षाको काम चलिरहेको गाउँपालिकाले जनाएको छ । अन्य रिक्त विभिन्न पदमा पनि गाउँपालिकाले कर्मचारी व्यवस्थापनको काम गरिरहेको छ ।