बेइजिङले ताइवान वरपर अर्को ठूलो सैन्य अभ्यास गर्ने



चीनको सेनाले ताइवान वरपर ठूलो सैन्य अभ्यास जारी राख्ने जनाएको छ । यसअघि आइतबार चीनले वास्तविक गोलीगठ्ठाहरू प्रयोग भएका पाँच अभ्यास अन्त्य भएको जनाएको थियो । चिनियाँ सेनाको ईस्टर्न थिएटर कमान्डका अनुसार अब उनीहरूले पनडुब्बी हमला र समुद्रमा छापा मार्ने कामको अभ्यास गर्नेछन् ।

यसअघि चार दिने अभ्यास अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइपेई भ्रमणलाई लिएर बेइजिङको असन्तुष्टिका रूपमा हेरिएका थिए । ताइवानले ती अभ्यास चीनले आफ्नो टापुमा अतिक्रमण गर्ने तयारीका रूपमा गरेको आरोप लगाएको छ । सोमवार ताइपेईले जनाए अनुसार यी अभ्यासमा हालसम्म चिनियाँ विमान र पानीजहाजहरू ताइवानी जलक्षेत्रमा प्रवेश गरेका छैनन् ।


अमेरिकासहित अस्ट्रेलिया र जापानले सैन्य अभ्यासको निन्दा गर्दै त्यसको उद्देश्य ताइवान स्ट्रेटमा यथास्थिति परिवर्तन गर्नु रहेको बताएका छन् । ताइवान स्ट्रेट ताइवान टापु र मुख्यभूमि चीनबीचको १८० किलोमिटरमा फैलिएको जलक्षेत्र हो ।

यस अभ्यासका क्रममा चिनियाँ विमान र पानीजहाजहरूले बारम्बार स्ट्रेटको विद्यमान मध्यवर्ती रेखा पार गरेका थिए । तर ताइवानको रक्षा मन्त्रालयले सोमबार विद्यमान मध्यवर्ती रेखा सन् १९५० को दशकयता व्यवहारिक रूपमा अस्तित्वमा रहेको र त्यो तथ्य भएको जनाएको छ।