प्रधानमन्त्री देउवाद्वारा कांग्रेस नेता वादेको निधनप्रति दुःख व्यक्त



काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा एवं कांग्रेस काभ्रेका पहिलो पुस्ताका नेता गोपालदास वादेको निधनप्रति दुःख व्यक्त गरेका छन् । वादेको ९७ वर्षको उमेरमा आज बिहान काभ्रेको बनेपास्थित आफ्नै निवासमा निधन भएको हो ।

सभापति देउवाले आज एक शोक वक्तव्यमार्फत कांग्रेसको सङ्गठन निर्माण र नेपालको प्रजातान्त्रिक आन्दोलनमा वादेले पु¥याएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । सभापति देउवाले उनको निधनबाट कांग्रेसले एक असल र निष्ठावान नेतालाई गुमाएको उल्लेख गरेका छन् ।


भारतको कोलकतामा भएको कांग्रेसको महाधिवेशनमा भाग लिएका उनका दाजु राजदास वादेको प्रेरणाबाट उनी कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । जननायक वीपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराईको सानिध्यतामा रहेर उहाँले कांग्रेसको सङ्गठन निर्माण र प्रजातान्त्रिक आन्दोलनमा उल्लेखनीय भूमिका निर्वाह गरेकाे कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

विसं २००३ देखि कांग्रेसमा आबद्ध रहेका स्व वादे सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय थिए । वादे परिवारको सहयोगमा बनेपामा शिर मेमोरियल अस्पतालको समेत स्थापना भएको थियो । उनी कांग्रेस बागमती प्रदेशका महामन्त्री एवं पूर्वराज्यमन्त्री कञ्चनचन्द्र वादेका पिता हुन् । स्व वादेका दुई छोरा र दुई छोरी छन् । उनको निधनबाट कांग्रेसले प्रजातान्त्रिक आन्दोलनका एक अग्रज नेतालाई गुमाएको जनाएको छ ।