प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो



काठमाडौँ । चोलेन्द्र शमसेर जबराविरुद्ध प्रतिनिधि सभामा दर्ता भएको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइएको छ । आइतबार महाभियोग प्रस्तावबारे प्रतिनिधि सभामा छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको सिफारिस समितिमा पठाउने प्रस्तावलाई बहुमतले पास गरेको हो ।

महाभियोग सिफारिस समितिमा विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, मिनबहादुर विक, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह सदस्य छन् । जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।


जबराविरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो । नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङको नेतृत्वमा ९८ सांसदहरुले जबराविरुद्ध महाभियोग दर्ता गरेसँगै उनी निलम्बनमा परेका थिए । अब समितिले ३ महिनाभित्र जबरामाथि लागेको आरोपमा छानबिन गरेर प्रतिवेदन बुझाउनुपर्ने छ ।