ग्रीन हाइड्रोजनबाट नेपालमै रासायनिक मल कारखाना खोल्न सकिने



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं विश्वविद्यालयका (केयू) का ग्रीन हाइड्रोजन विज्ञ टोलीबीच भेटवार्ता भएको छ । सोमबार बालुवाटार पुगेर हाइड्रोजन विज्ञ टोलीले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा विज्ञ टोलीका सदस्यहरुले नेपालमा ग्रीन हाइड्रोजन उत्पादन र हालसम्मको उपलब्धिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । त्यस्तै नेपालमै हाइड्रोज मल कारखाना खोल्न सकिने सम्भावनाका बारेमा प्रधानमन्त्री देउवाले जिज्ञासा राखेका थिए ।


सो विषयमा विज्ञहरुले ग्रीन हाइड्रोजनबाट नेपाल सरकारले आफ्नै रसायनिक मल कारखाना खोल्न सक्ने र त्यसको प्राविधिक पक्ष थप सबल हुँदै गइरहेको बताएका थिए ।

उनीहरुले नेपालमै रसायनिक मल कारखाना खोल्ने विषयलाई गम्भीरता पूर्वक लिएर आवश्यक समन्वय र सहकार्य गरिदिन प्रधानमन्त्री देउवालाई आग्रह समेत गरेका थिए। यसका लागि सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवाला पक्षलाई आवश्यक हाइड्रोजन उत्पादनसँग सम्बन्धित नीति नियम र कानुन निर्माणका लागि निर्देशन दिने प्रधानमन्त्रीसमक्ष विशेष आग्रह गरेका थिए।

विज्ञहरुको सुझावमा प्रधानमन्त्री देउवाले ग्रीन हाइड्रोजनको उत्पादन र उपयोगितामा नेपाल सरकारले आवश्यक नीति, कानुन बनाएर यथाशीघ्र कार्यान्वयनमा जाने बताएका थिए ।

छलफलमा कांग्रेसका नेता प्रकाशमान सिंह, केयूका ग्रीन हाइड्रोजन ल्याबका प्रमुख प्राध्यापक डाक्टर विराज सिं थापा, प्राज्ञिक औद्योगिक संयोजक डाक्टर राम लामा र वातावरण इन्जिनियर लक्ष्मण लामा सहभागी थिए ।