कार्यालय प्रमुखमाथि नै रु १२ करोड बेरुजु



महाेत्तरी । स्थानीय तहमा बेरुजु कहालीलाग्दो देखिँदो छ । महोत्तरीको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजङ्ग थापामाथि २०७९ अनुसार रु १२ करोड ४५ लाख २१ हजार बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार उहाँ माथि सो बेरुजु देखिएको हो ।

आर्थिक वर्ष २०७६÷७७ को प्रारम्भदेखि उनी सो नगरपालिकामा कार्यरत छन् । २०७६ भदौ १३ गते कार्यालयको जिम्मेवारी सम्हालेका थापामाथि बर्सेनि बेरुजु थापिँदै जाँदा आव २०७७÷७८ सम्म रु १२ करोड बेरुजु नाघेको हो । उनीमाथि देखाइएको बेरुजु रकममध्ये असुल गर्नुपर्ने रु छ करोड ८८ लाख ४७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु दुई करोड ६० लाख ५० हजार, नियमित गर्नुपर्ने रु ७७ लाख ९० हजार र पेश्की रु दुई करोड १८ लाख ३४ हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।


कार्यकारी अधिकृत थापाले खुद तिर्नुपर्ने नै रु छ करोड ८८ लाख ४७ हजार देखिएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले यो बेरुजुमा कार्यालयका लेखा अधिकृत सञ्जीव बराललाई पनि समेटेको छ । प्रमुख प्रशासकीय अधिकृत थापामाथि आव २०७८÷७९ मा बेरुजु रकम अझै बढ्ने बताइएको छ । कार्यकारी अधिकृत थापाले गौशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद सम्हालेयता नगरपालिकामा बर्सेनि बेरुजु रकम थपिँदै गएको हो ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार आव २०७७÷७८ सम्ममा नगरपालिकाको गत वर्ष (२०७६÷७७) को रु ४३ करोड तीन लाख ६१ हजार कुल बेरुजु बाँकी देखिएको थियो । पछिल्लो आव २०७७÷७८ को समायोजन र संपरीक्षणबाट फछ्र्यौट एवं वर्षको अन्त्यमा कायम भएको बेरुजुसमेत अद्यावधिक हुँदा बेरुजु रु ४८ करोड ६६ लाख ९९ हजार देखिएको प्रतिवेदनमा उल्लेख छ ।