काँग्रेस शीर्ष नेताको बैठक : स्वाभाविक ढङ्गले चुनावी तालमेल गर्न सुझाव



काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा स्वाभाविक देखिने गरी चुनावी तालमेल गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

सोमबार बालुवाटारमा बसेको बैठकमा सहभागी नेताहरूले गठबन्धनका उम्मेदवार विजयी हुने कुरालाई केन्द्रमा राखेर व्यावहारिक‚ वैज्ञानिक र स्वभाविक प्रकृतिको चुनावी तालमेल गर्नुपर्ने बताएका हुन् ।


पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनमा आबद्ध दलहरूसँग सिट बाँडफाँटको विषयमा पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठक बोलाएका थिए ।

आजको बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि‚ गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, सहमहामन्त्रीहरू किशोरसिंह राठौर, भिष्मराज आङदेम्बे, जीवन परियार, महेन्द्र यादव, उमाकान्त चौधरीलगायतले आफ्नो धारणा राखेका थिए ।