कञ्चनपुरमा एकै दिन ३९ मा कारोनाको सङ्क्रमण पुष्टि



कञ्चनपुर । कञ्चनपुरमा आज एकै दिन ३९ जनामा कारोनाको सङ्क्रमण देखापरेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पश्चिमी सीमा नाका गड्डा चौकीमा ११, भीमदत्त नगरपालिका मा १४, बेलौरी नगरपालिकामा ११, शुक्लाफाँटामा तीन, पुनर्वासमा एक र कृष्णपुरमा दुईमा कोरोना सङ्क्रमण देखापरेको हो ।

चार सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ३९ को नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए । कोरोनाको सङ्क्रमण देखापरेका ३९ लाई होम आइसोलेसनमा पठाइएको छ । आज सातले कोरोना जितेर घर फर्किएका छन भने अहिलेसम्म कोरोनालाई जित्नेको सङ्ख्या चार हजार पाँच सय ५८ पुगेको छ ।


जिल्लामा अहिलेसम्म एन्टिजेन परीक्षणबाट चार हजार सात सय ३२ र हेल्थ डेस्क गड्डा चौकी नाकामा एन्टिजेन परीक्षणबाट दुई हजार पाँच सय २८ मा कोरोना पुष्टि भएको छ । जिल्लामा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या ८७ रहेको छ भने अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई सय ११ रहेको छ ।

“कोरोनाको सङ्क्रमण बढ्न थालेपछि परीक्षणको दायरा बढाएका छौँ”, स्वास्थ्य कार्यालय प्रमुख सुनारले भने, “खोप लगाउने कार्यलाई निरन्तरता दिइएको छ । कोरोनाको सङ्क्रमण बढी फैलिएका क्षेत्रबाट आएका व्यक्तिलाई निगरानीमा गरिरहेका छौँ । होल्डिङ सेन्ट र आइसोलेसन सञ्चालनबारे अहिलेसम्म केन्द्रबाट कुनै निर्देशन आएको छैन ।”