इथियोपियामा सुरक्षा कारबाहीमा ३३३ विद्रोहीको मृत्यु



इथियोपियाली सुरक्षा फौजले हालै गरेकोे सुरक्षा कारबाहीमा ३३३ जना संदिग्ध ओरोमो लिबरेशन आर्मी (ओला) विद्रोहीको मृत्यु भएकोे इथियोपियाली अधिकारीले बताएका छन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारी सञ्चार सेवा राज्यमन्त्री सेलामाविट कासाले भने, “जुलाई २३–२९ भएको सुरक्षा कारबाहीमा ३३३ संदिग्ध विद्रोहीको मृत्यु भएको र ६७१ नेता तथा कार्यकर्तालाई सुरक्षा नियन्त्रणमा लिइएको छ ।”


कासाले सैन्य परिचालनको क्रममा उनीहरूबाट ठूलो पैमानामा बन्दुक तथा रेडियो सञ्चार प्रणाली जफत गरिएको पनि बताए । विद्रोही समूहले आपूर्ति भण्डारण गर्न प्रयोग गरिरहेका ६९ वटा गोदाम पनि नष्ट गरेको इथियोपियाली सुरक्षा फौजले बताएको छ ।

ओला पूर्व विद्रोही समूह, ओरोमो लिबरेसन फ्रन्ट (ओएलएफ) को विखण्डनकारी सशस्त्र गुट हो । सन् २०२१ को मे महिनामा इथियोपियाली संसदले ओलालाई आतंकवादी समूहको रूपमा नामकरण गर्ने प्रस्तावलाई बहुमतबाट पारित गरेको थियो ।