इजरायल र प्यालेस्टाइन विद्रोहीहरूबीच युद्धविराम गर्ने सहमति



४३ जनाको ज्यान जानेगरी तीन दिनसम्म चलेको हिंसापछि इजरायल र प्यालेस्टाइन विद्रोहीहरूबीच युद्धविराम भएको छ । प्यालेस्टाइन इस्लामिक जिहादका लडाकुले युद्धविराम सोमबार मध्यरातबाट लागु हुने बताएका छन्। इजरायली प्रधानमन्त्री याइर लापिडले पनि युद्धविरामको पुष्टि गरे ।

युद्धरत पक्षबीच इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा युद्धविराम भएको हो । पछिल्लो हिंसा इजरायल र गाजाबीच सन् २०२१ मा ११ दिनसम्म चलेको द्वन्द्वपछि सबैभन्दा गम्भीर लडाइँ हो । युद्धविराम हुनुअघि इजरायली सेनाले गाजास्थित इस्लामिक जिहादलाई लक्ष्य गरेर आक्रमण गरेको थियो।


लगत्तै गाजाबाट रकेटहरू प्रहार भएका तर तिनलाई निष्क्रिय बनाइएको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यसपछि थप आक्रमणहरू नभएको र युद्धविरामको अवस्था रहेको बताइएको छ । इजरायली सेनाले गाजा स्ट्रिपमा रहेका विद्रोही समूहले दिएको चेतावनीको प्रतिक्रियामा आक्रमण गरेको जनाएको छ ।

इजरायल नियन्त्रित वेस्ट ब्याङ्क क्षेत्रबाट प्यालेस्टाइन इस्लामिक जिहादका वरिष्ठ सदस्य पक्राउ गरिएपछि तनाव चुलिएको थियो । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार हिंसामा आइतवारसम्म मारिने ४३ जनामध्ये १५ जना बालबालिका छन् ।

रफा सहरमा इजरेलले गरेको आक्रमणमा प्यालेस्टाइन इस्लामिक जिहादका दोस्रो प्रमुख नेता मारिएका थिए । मृत्यु भएका मानिसको अन्तिम संस्कारमा आइतवार ठूलो भिड जम्मा भएको थियो। गाजाको समर्थनमा प्रदर्शनहरू समेत भएका छन् । गाजामा मानवीय सङ्कट आउन सक्ने चिन्ताबीच दुई पक्षबीच युद्धविरामको सहमति भएको हो।