आगामी निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ कम्तीमा १५० सिट जित्छः ओली



कञ्चनपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका कार्यकर्ता गठबन्धनदेखि पछुताइरहेको बताएका छन् ।

बुधबार कञ्चनपुरमा आयोजित ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले चुनावी गठबन्धन गरेकोमा मनमनै छट्पटाइरहेका बताएका हुन् । उनले भने,‘यो पार्टी सिद्धिने भयो भनेर मनमनै धेरै रोएका छन्। मनमनै छट्पटाएका छन्। खोनेबेला थोरै पस्क है भन्छन्। सुत्नेबेला पार्टीको चिन्ताले निन्द्रा लाग्दैन । म साथीहरुलाई चिन्ता नलिएर एमालेमा आउन आग्रह गर्छु। देश बनाउने जिम्मा एमालेको हो।’


अध्यक्ष ओलीले प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिकतर्फ गरेर १५० सिट एमालेले जित्ने दाबी गरे । उनले भने, ‘आउँदो निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ कम्तीमा १५० सिट जित्छ । दुनियाँ आश्चर्यचकित हुनेछ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवा भारत गएर म्याउम्याउ गरेको र माओवादी अध्यक्ष प्रचण्ड भारत गएर खुसुखुसु गरेर आएको बताए ।

उनले भने,‘प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुभयो। कसरी बोल्नभयो ? म्याउम्याउ म्याउ गर्नुभयो। लिपुलेक,कालापानी फिर्ता देउ भन्नुपर्दैन ? अर्को गठबन्धनको नेता जानुभो अलिपछि । उहाँले बोलेको त बाहिर सुनिने कुरै भएन । हामी यो पनि छोडिदिउँला, त्यो पनि छोडिदिउँला, केपी ओलीले सबै खाइदिने भो। खुसखुस, खुसखुस, प्राण बचाइदिनुपर्यो भन्नुभयो।’