काठमाडाैँ । कुनै पनि बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने तथा गाभिने प्रक्रिया सुरु हुने बित्तिकै धितोपत्र बजारमा शेयर कारोबार रोकिने गरेको थियो । यसमा क्षेत्रगत विवाद रहँदै आएको थियो । बैंक तथा वित्तीय संस्थाको नियमन तथा सुपरिवेक्षण गर्ने जिम्मेवारी केन्द्रीय बैंकको भए पनि धितोपत्रको कारोबारको नियमन गर्ने जिम्मेवारीमा नेपाल धितोपत्र बोर्ड रहेको छ ।
त्यसलाई सम्बोधन गर्ने लक्ष्यका साथ मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरिएको छ । त्यसको सट्टामा धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइएको छ ।
शेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरूबाट लिनसक्ने गरी अधिकतम सीमा रु १२ करोड कायम गरिएको छ । शेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइएको छ ।
शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार रु २५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत् राखिएको छ । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा अन्तर्राष्ट्रिय समन्वय संयन्त्रलाई सबल बनाउँदै लैजान आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय गर्दै लगिनेछ ।
आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा व्यवस्था भएबमोजिम केन्द्रीय बैंकको सुपरिवेक्षकीय दायराबाहिर रही वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी र गैरसरकारी संस्थाहरुको प्रभावकारी नियमन, निरीक्षण तथा सुपरिवेक्षणका लागि दोस्रो तहको नियामक निकाय स्थापना सम्बन्धमा आवश्यक सहजीकरण गरिने भएको छ ।
त्यस्तै, बचत तथा ऋण सहकारी संस्थाहरूको नियमन, निरीक्षण तथा सुपरिवेक्षण व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक सहयोग पु¥याइने छ । ग्रिन फाइनान्सिङलाई प्रोत्साहन गर्न हरित वण्ड निष्कासन गर्ने, जलवायु जोखिम रिर्पोटिङ गर्ने, पूँजी आवश्यकता पहिचान गर्ने लगायतका विषय समावेश गरी नयाँ नीतिगत व्यवस्था गर्न लागिएको छ ।